नेपाली काङ्ग्रेस नेतृत्वले स्थानीय तह निर्वाचनमा एकढिक्का भएको सन्देश दिएको छ ।
सभापतिका प्रत्यासी शेखर कोइरालाको गृहनगर विराटनगरबाट एकढिक्का भएको सन्देश काङ्ग्रेसले दिएको हो । आज (बुधबार) विराटनगरमा आयोजित चुनावीसभामार्फत् काङ्ग्रेस सभापति शेरबहादुर देउवा, सभापतिका प्रत्यासी कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायतले पार्टी एकढिक्का भएको सन्देश दिए ।
गठबन्धनको विरोध गर्दैआएका कोइरालाले खुलेर गठबन्धनको वकालत गरे । चुनावीसभामा विराटनगरको मेयरका प्रत्यासी नेता पनि सहभागी थिए । उनीहरूले एक ठाउँमा उभिएको सङ्केत दिए ।
‘आजको सभाले पार्टी उम्मेदवारप्रति हुने सबैखाले टिक्का–टिप्पणीको अन्त्य गरेको छ,’ काङ्ग्रेस नगर सभापति दीपक चापागाईंले भने, ‘पार्टी एक ठाउँमा उभिएको सन्देश विराटनगरले दिएको छ ।’
पार्टीभित्रका शीर्षनेता र मेयरका आकाङ्क्षीले एउटै मञ्चमा उभिएर पार्टी एकढिक्का भएको संन्देश दिएको उनले बताए । आजको सभापछि विराटनगरमा गठबन्धनको माहोल बनेको उनको दाबी छ । ‘विराटनगरमा काङ्ग्रेसको लहर आयो,’ उनले भने, ‘गठबन्धनको जित पनि सुनिश्चित भयो ।’
शीर्ष नेताहरू एक ठाउँमा देखिएका कारण पार्टी र उम्मेदवारका नाममा बनाइने कहानी अन्त्य भएको उनले बताए । पार्टीभित्र मेयरको टिकटका लागि सभापति शेरबहादुर देउवा पक्षका अमृत अर्याल, डिला सङ्ग्रौला, कृष्णप्रसाद सिटौला पक्षका भीम पराजुली र कोइराला पक्षका नागेश कोइरालाबीच प्रतिस्पर्धा थियो ।
नागेशले टिकट पाएपछि पराजुली र अर्याल चुनावी घरदैलोमा देखिएका थिएनन् । बुधबार भने उनीहरूले मेयरमा नागेश र उपमेयरमा जनता समाजवादी उम्मेदवार अमरेन्द्र यादवलाई भोट मागे । उम्मेदवारलाई जिताउन एकढिक्का भएको सन्देश पनि दिए । चुनावी सभालाई सम्बोधन गर्दै नेताहरूले स्थानीय तह निर्वाचनमा देशभर गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
विराटनगरमा मेयर र उपमेयरबाहेक वडामा गठबन्धन छैन । उपमेयरमा जसपाबाट उम्मेदवार बनेका अमरेन्द्र यादवलाई मञ्चमा राखेर काङ्ग्रेस सभापति शेरबहादुर देउवासहित करिब छ नेताले भोट मागेका हुन् । सभामा गठबन्धनमा रहेका दल माओवादी केन्द्र र नेकपा (एस) भने सहभागी थिएनन् ।
‘काङ्ग्रेस पार्टीले कसैलाई पनि धोका दिँदैन, आफू धोका खाएर पनि दिँदैन,’ काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘गठबन्धनमा कुनै किसिमको शङ्का–उपशङ्का गर्न हुँदैन ।’
उनले विराटनगरको प्रमुखमा नागेश कोइराला र उपप्रमुखमा अमरेन्द्र यादवलाई भोट जिताए विराटनगरको विकासका लागि आफूले सहयोग गर्ने बताए ।
देउवाभन्दा अगाडि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि गठबन्धनमाथि शङ्का नगर्न आग्रह गरे । पौडेलले संविधानको रक्षाका निम्ति गठबन्धन भएको बताए । विराटनगरको मेयरमा काङ्ग्रेस र उपमेयरमा जसपा उम्मेदवार उठेको बताउँदै उनले भने, ‘रुख र छाता दुईटै शीतलताका प्रतीक हुन्, दुईटैले मानिसलाई शीतलता र सुरक्षा दिन्छन् । यहाँ मिलेर जनतालाई शीतल छहारी दिने छन् ।’
शेखर कोइरालाले पनि लोकतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई आग्रह गरे । शेखर कांग्रेस एक्लै चुनावमा लड्नुपर्ने पक्षमा थिए । तर गठबन्धन भएपछि विराटनगरमा सभापति देउवा र वरिष्ठ नेता पौडेलसँगै देखिएका उनले मेयरमा रुख र उपमेयरमा छातामा मतदान गर्न आग्रह गरे ।
राजनीतिक र आर्थिक नगरीक रूपमा परिचित विराटनगरको परिचय समाप्त हुँदै गएको बताउँदै उनले गठबन्धनका उम्मेदवारलाई जिताए सुन्दर सफा र हराभरा विराटनगर बनाउने बताए । काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री डिना उपाध्याय, नेता मिनेन्द्र रिजाल, डिला सङ्ग्रौला, अमृत अर्याल, भीम पराजुली, प्रदेश १ सभापति उद्धव थापालगायत नेताले इमान्दार भएर गठबन्धनका नेतालाई जिताउन आग्रह गरेका थिए ।
