Nepali Unicode | Preeti to Unicode

चितवनमा सत्ता गठबन्धनका दलले सात पालिकामा भागबण्डा टुङ्ग्याएका छन् । भरतपुर महानगरपालिकाको मेयर नेकपा (माओवादी केन्द्र) र उपमेयर नेपाली कांग्रेसले पाउने गरी पालिकामा भागबण्डा गरिएको छ ।

भागबण्डा टुङ्गिए पनि भरतपुरबोहक अन्य पालिकामा उमेदवारको अझै टुङ्गो लागेको छैन । दलहरुले आज साँझसम्ममा उमेदवारको पनि टुङ्गो लगाउने तयारी गरेका छन् । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता गर्ने समयावधि आयोगले तोकेको छ ।

नेपाली कांग्रेसका उपसभापति राजीव न्यौपानेले आज साँझसम्म गठबन्धनले उमेदवारको टुङ्गो लगाउने जानकारी दिए । भोलि १ बजे संयुक्तरुपमा मनोनयन दर्ता गरिने उनले बताए । ‘आज बेलुकासम्म उमेदवारहरुको टुङ्गो लगाइन्छ । भोलि १ बजे चौबीसकोठीदेखि झाँकीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर संयुक्तरुपमा मनोनयन दर्ता गर्ने तयारी छ’, उनले भने ।

भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले उमेदवारी दिने भएकी छन् । उपमेयरमा कांग्रेस भरतपुर महानगर समितिका सभापति चित्रसेन अधिकारीको चर्चा छ ।

कांग्रेसले रत्ननगर, खैरहनी, कालिका र इच्छाकामनाको प्रमुखमा उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा सहमति भएको उनले बताए । माओवादी केन्द्रले माडी र नेकपा (एकीकृत समाजवादी) ले राप्तीको प्रमुखमा उमेदवार उठाउने सहमति भएको छ ।

त्यस्तै, कांग्रेसले राप्ती र माडी, समाजवादीले रत्ननगर र माओवादीले खैरहनी, कालिका र इच्छाकामनाको उपप्रमुखको पदमा उमेदवार उठाउने छ । सात पालिकाका ९८ वटा वडामध्ये कांग्रेसले ५९ वटा वडा पाएको न्यौपानेले बताए । बाँकी ३९ वडामा माओवादी र समाजवादी मिलेर भागबण्डा गर्दै छन् । भरतपुर महानगरका २९ वडामध्ये कांग्रेसले मात्रै २० वडा पाउने सहमति भएको उनले बताए ।

सहमतिअनुसार नेपाली कांग्रेसले माओवादी अध्यक्ष प्रचण्डको १४ नम्बर वडासहित २० वटा आफ्नो भागमा राखेको छ भने माओवादीलाई पाँच र नेकपा एसलाई तीनवटा दिएको छ ।

कांग्रेसले १,२,३,४,५,६,७,८,१०,१४,१५,१६,१७,१८,१९,२०,२१,२३,२७,२९ मा अध्यक्ष लिने भएको छ । त्यस्तै माओवादीले ११,१३,२४,२५,२८ नम्बर वडा अध्यक्षको उम्मेदवार लिनेछ भने नेकपा एसले ९, १२ र २२ नम्बर वडामा भाग पाउने भएको छ । २६ नम्बर वडामा कुरा मिल्न बाँकी छ, जहाँ कांग्रेसले दाबी छाडेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर