
श्रीलङ्कामा फेसबुक, ट्विटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालका माध्यमहरूमा प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै अर्को माध्यम ह्वाट्सएप पनि खुलेको छैन । खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शन भएपछि श्रीलङ्कामा सरकारले सामाजिक सञ्जालको पहुँचमा अवरोध गरेको छ । मोबाइल फोन प्रयोगकर्ताले दूरसञ्चार नियामक आयोगको निर्देशनमा यस्तो गरिएको भन्ने सन्देश पाएका छन् ।
बिहीबार भिडले राष्ट्रपतिको निजी निवासबाहिर सवारीसाधनमा आगो लगाइदिएपछि थप विरोध प्रदर्शन नहोस् भनेर कडा प्रतिबन्धहरू लगाइएको हो । त्यहाँ अहिले सङ्कटकाल घोषणा गरिएको भने कर्फ्यू पनि लगाइएको छ ।
कर्फ्यू शनिबार साँझदेखि लागू भएको हो । राष्ट्रपति गोटाबय राजपक्षले सम्बन्धित निकायबाट लिखित अनुमति नलिई कसैले पनि सडक, उद्यान, रेल वा समुद्री तटमा जान नपाउने गरी निषेधाज्ञा जारी गरेका हुन् ।
श्रीलङ्कामा इन्धन तथा अत्यावश्यक खानेकुरा र औषधिबाहेक बिजुलीको पनि ठूलो अभाव देखा परेको छ । देशमा दैनिक १२ घन्टाभन्दा बढी समय लोडसेडिङ छ ।
कागजको अभावमा लाखौँ परीक्षार्थीहरूको परीक्षासमेत रोकिएको छ । त्यस्तै, अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव देखिन थालेको छ । –बिबिसीबाट