भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी बनारस (वाराणसी) पुगेका छन् । उनलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेश राज्यका उच्च अधिकारीहरूले स्वागत गरेका थिए । त्यहाँ रहँदा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा. आरजु राणा देउवासहित काशी विश्वनाथको पूजाअर्चना गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवाले समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।त्यसअघि प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतको बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाई गरेका थिए । प्रधानमन्त्री देउवा आजै अपराह्न वाराणसीबाट नयाँदिल्लीका लागि प्रस्थान गरी साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।
