पोल्यान्ड आगामी नोभेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । मङ्गलबार राति भएको युरोपियन छनोटतर्फको प्लेअफको खेलमा स्विडेनलाई २–० गोलले हराउँदै पोल्यान्डले कतार यात्रा तय गरेको हो ।
घरेलु मैदानमा पोल्यान्डलाई जिताउन रोबर्ट लेवान्डोस्की र पाइट्र लिजेन्स्कीले एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा दुई गोल गर्दै पोल्यान्डले कतार भ्रमण निश्चित गरेको हो । खेलको ४९औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै पोल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ७२औँ मिनेटमा जिलेन्स्कीले गोल गरेपछि पोल्यान्ड २–० गोलले विजयी भयो ।
