२०७९ वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर आगामी चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी थालिएको छ ।
निर्वाचन आयोगले त्यसको तयारी गरिरहेको हो । आयोगका अनुसार प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति प्रक्रियाका कारण आचारसंहिता कार्यान्वयनको समय केही दिन पर धकलिएको थियो ।
आयोगले प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिसकेको छ । अब निर्वाचन आचारसंहिता उल्लंघनका घटनाको उजुरीका लागि सहज भएको छ । प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नहुँदा आचारसंहिता उल्लंघनको उजुरी सुनुवाइमा समस्या हुने भएकाले आचारसंहिता लागू गर्न केही ढिला भएकोे निर्वाचन आयोगले जनाएको छ ।
आयोग स्रोतका अनुसार आचारसंहितामाथि छलफल गर्न चैत २२ गते सर्वदलीय बैठक बोलाइएको छ । उक्त बैठकमा आउने सुझावपछि आचारसंहिता लागू हुने आयोगको भनाइ छ ।
निर्वाचनको प्रचारप्रसारका क्रममा दल तथा उम्मेदवारबाट हुने निर्वाचन आचारसंहिता उल्लंघनका घटना रोक्न आयोगले गत बुधबारदेखि मुलुकका सातै प्रदेशका राजधानी र भारतीय सीमा नाकासँंग जोडिएका जिल्लामा अन्तरक्रिया गरिररहेको छ । स्थानीय तह निर्वाचन आचारसंहिता र त्यसको कार्यान्वयनलगायत विषयमा अन्तरक्रियामा छलफल भइरहेको आयोगले जनाएको छ ।
