सरकारले २०७४ साल साउन २६ गते खेतीयोग्य जमिनलाई खण्डीकरण गर्न नपाउने गरी रोक लगाएको थियो । त्यसपछि भूमि व्यवस्था मन्त्रालयले गत भदौ १८ गतेको निर्णय भनी २०७४ सालमा भएको सो निर्णयलाई हटाएको थियो ।
सरकारले गैरसंवैधानिक र गैरकानुनीरुपमा खेतीयोग्य जमिनलाई खण्डीकरण गर्न अनुमति दिएको उल्लेख गर्दै अधिवक्ताहरू सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेद्वारा संयुक्तरुपमा रिट निवेदन दायर गरेका थिए ।
सो निवेदनको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले भदौ १८ गतेको निर्णय हाल कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्चले गत भदौ १८ गते खेतीयोग्य जमिनलाई कित्ताकाट गर्ने गरी भएको निर्णय यही असोज ८ गतेसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
सोबमोजिम असोज ८ गते बसेको प्रधानन्यायाधीश जबरा र न्यायाधीश सिन्हाको संयुक्त इजलासले सोसँग सम्बन्धित विषयको सक्कल फाइल मगाएको हो ।
भूमि उपयोग ऐन, २०७६ को दफा ८ मा एउटा प्रयोजनका लागि छुट्याइएको जमिनलाई अर्को प्रयोजनका लागि प्रयोगमा ल्याउन नहुने उल्लेख गरिएको छ ।
सो ऐनको दफा ४ मा जमिनको वर्गीकरण १० प्रकारले गरिएको छ । दफा ५ मा ऐन प्रारम्भ भएको एक वर्षभित्र प्रत्येक स्थानीय तहले भूउपयोग नक्सा तयार गरी वा गर्न गर्न लगाउनुपर्ने उल्लेख छ ।
सोबमोजिम तयार गर्नुपर्ने नक्सा नबनाई भूमाफियाको चङ्गुलमा परी सरकारले कित्ताकाट गरेको रिट निवेदनमा उल्लेख गरिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।