इन्डियन प्रिमियर लिग (आइपिएल) मा नवप्रवेशी टिम गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ । सोमबार मुम्बईस्थित वान्खडे स्टेडियममा भएको खेलमा गुजरातले अर्को नयाँ टोली लखनउ सुपर जाइन्टमाथि ५ विकेटको जित निकालेको हो ।
लखनउले दिएको एक सय ५९ रनको लक्ष्य पछ्याएको गुजरातले मात्र दुई बल बाँकी छँदा ५ विकेट गुमाएर पूरा गरेको हो । गुजरातको जितमा राहुल टेवाटियाले अविजित रहँदै ४० रन बनाए भने कप्तान हार्दिक पान्डयले ३३ रन जोडे ।
डेभिड मिलर र म्याथ्यु वेडले समान ३०/३० रनको योगदान गर्दा अभिनव मनोहरले अविजित १५ रन बनाए ।
लखनउका दुश्मन्था चामिराले दुई विकेट लिए भने अभेस खान र दीपक हुडाले एक-एक विकेट झारे ।
त्यस अघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो । लखनउका लागि दीपक हुडा र आयुस बाडोनीले अर्धशतकीय इनिङ्स खेले ।
दीपकले ५५ रनको अर्धशतकीय इनिङ्स खेले भने बाडोनीले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । कुर्नाल पाण्डले अविजित २१ रन जोडे ।
गुजरातका मोहमद शामीले तीन विकेट लिए भने आरोन ब्ररुणले दुई विकेट लिए । यस्तै राशिद खानको नाममा एक विकेट रह्यो ।
जितसँगै गुजरातले पहिलो खेलमा दुई अङ्क जोडेको छ । लखनउले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
