Nepali Unicode | Preeti to Unicode

नेपाली काङ्ग्रेसको सोमबार (आज) बस्ने केन्द्रीय समितिको बैठकले स्थानीय तह निर्वाचनमा गरिने गठबन्धनको मोडालिटी र ढाँचाको टुङ्गो लगाउने भएको छ।

आवश्यकताको सिद्धान्तको आधारमा आगामी निर्वाचनमा गठबन्धन बनाउने बताउँदै आएको काङ्ग्रेसले त्यस विषयमा स्पष्ट मोडालिटी बनाउने भएको हो। आइतबार (हिजो) बसेको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले गठबन्धन गरेर जानुपर्ने मत राखेका थिए। ‘घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियानमा जिल्लाजिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले पनि गठबन्धनसहित चुनाव लड्नुपर्ने सुझाव दिएपछि काङ्ग्रेसले गठबन्धनको मोडालिटी र ढाँचा बनाउने भएको हो।

सो अभियानमा धेरै केन्द्रीय सदस्य जिल्लामा प्रतिनिधिका रूपमा खटिएका छन् । अधिकतम् स्थानमा जित हासिल गर्न समझदारी गरेर गठबन्धन बनाइनुपर्ने कुरा काङ्ग्रेस बैठकमा उठेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

केन्द्रीय समितिको बैठकमा हिजो नेताहरूले धारणा राख्नेक्रम बाँकी नै रहेकाले आज पनि नेपाली काङ्ग्रेसको बैठक बस्ने भएको हो । बिहान साढे ११ बजे पुनः बैठक बस्ने नेताहरूले बताएका छन् ।

हिजोको बैठकमा आउँदो स्थानीय तह निर्वाचन, त्यसको प्रचारप्रसार, ‘घर–घर जाऊँ–काङ्ग्रेस जिताउँ अभियान’लगायत विषयमा छलफल भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा स्थानीय तह निर्वाचनमा पार्टीको अवस्था, अन्य दलसँग चुनावी तालमेललगायत विषयमा छलफल भइरहेको छ । संसदीय समिति गठनलगायतलाई पनि छलफलको एजेन्डा बनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर