
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बसेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने तय छ ।
कार्यव्यवस्थाको बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुनेछ । कार्यसूचीलाई अन्तिम रूप दिइनेछ । बैठकमा संसद्मा जारी अवरोध हटाउने विषयमा पनि छलफल हुनेछ । आजको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले बहिष्कार गरेको छ ।एमालेले गएको भदौ २३ गतेदेखि लगातार संसद्मा अवरोध गर्दै आएको छ । आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर जानकारी गराउँदा सभामुख सापकोटाले त्यसलाई मान्यता नदिएको भन्दै अवरोध गर्दै आएको हो । सभामुख सापकोटाले भने एमाले सांसदको विरोधबीच प्रतिनिधिसभा बैठक सञ्चालन गर्दै आएका छन् ।