Nepali Unicode | Preeti to Unicode

नेपाल बार एसोसिएसनको १५औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन २०७८ ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसकिने निर्णय गरेको जनाएको छ ।

बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले अब जुनसुकै अवस्थामा पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई न्यायपालिका र सार्वजनिक दायित्वको पदमा स्वीकार गर्न नसकिने बताए । उनले प्रतिनिधिसभामा दर्ता भएको प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि यथाशीघ्र कारबाहीको प्रक्रिया थाल्न पनि सम्मेलनले माग गरेको बताए ।

महासचिव पौडेलले प्रधानन्यायाधीश जबराको बहिर्गमनले मात्रै न्यायापालिका सुधार हुन नसक्ने हुँदा भ्रष्टाचारको निर्मूलताका लागि शङ्कास्पद भूमिकामा देखिएका अन्य न्यायाधीशबारे पनि छानबिन प्रक्रिया अघि बढाउन माग गरे ।

उनले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको भूमिकाका कारण सर्वोच्च अदालतमा मुद्दाहरू पर्ने गरेको र त्यस्ता मुद्दा प्रधानन्यायाधीशकै नेतृत्वमा गठन भएको संवैधानिक इजलासले हेर्ने गरेको उल्लेख गर्दै यसमा प्रधानन्यायाधीशको संलग्नता नरहने गरी संविधान संशोधन गर्न पनि सम्मेलनले माग गरेको जानकारी दिए ।

महासचिव पौडेलले न्यायपालिकाका विकृति र विसंगति निर्मुलनका लागि न्यायधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा तयार पारिएको प्रतिवेदन सर्वोच्चबाट विनियम संशोधन गरी प्रकाशकीय निर्णयबाट कार्यान्वयन हुनसक्ने प्रावधान तत्काल क्रमिक रूपमा लागू गर्न पनि सम्मेलनले माग गरेको बताए ।

सम्मेलनले अदालतमा नियुक्त भएका न्यायाधीश, न्याय परिषद्का सदस्यहरूको सम्पत्तिको वार्षिक विवरण सार्वजनिक गर्नुपर्ने र विवरण लुकाएको पाए फौजदारी कानुनको व्यवस्था हुनुपर्ने, त्यस्तो विवरण प्रत्येक पटक कानुन व्यवसायी प्रमाणपत्र अद्यावधिक गरेर आफ्नो वेभसाइटमा राख्नुपर्ने माग गरेको छ ।

सम्मेलनले उपभोक्ता अदालत तत्काल स्थापना गर्न, सरकार र सम्बन्धित राजनीतिक दल एवम् अन्य पक्षबीच भएमा सहमतिपत्र बमोजिम थुनामा रहेको नेता, कार्यकर्ताहरुको रिहाई र विचार, आस्थाका बन्दीउपर लगाइएका सम्पूर्ण मुद्दा फिर्ता लिन पनि माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर