
बुधबारदेखि सत्तारुढ गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुईपटक प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्रीनिवास बालुवाटार पुगिसकेका छन् ।
स्रोतका अनुसार बुधबारको बैठकले एमसिसी प्रस्ताव टेबल गर्न दुईदिन पर धकेल्ने काम गरेबाहेक दुई नेताबीचका दुवै भेटले कुनै तात्विक सफलता हासिल गरेको छैन । उनीहरूको बैठकबाट एमसिसीका सन्दर्भका कुनै नयाँ सहमति सिर्जना हुने अवस्था देखिँदैन ।
काङ्ग्रेस एमसिसीलाई अब रोक्ने पक्षमा छैन । काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र संसदीय दलको बैठकले पास–फेल जे भए पनि संसदमा लैजाने निर्णय गरिसकेको छ । स्वयम् प्रधानमन्त्री देउवासमेत गठबन्धन भत्किए पनि एमसिसी टेबल गर्ने मनस्थितिमा छन् ।
यता माओवादी केन्द्रको बुधबारको बैठकले एमसिसी यथास्थितिमा अघि बढाए सरकार छाड्ने निर्णय गरिसकेको छ । नेकपा (एकीकृत समाजवादी)ले सरकार छाड्ने÷नछाड्ने विषयमा आधिकारिक निर्णय नगरे पनि माओवादी केन्द्रजस्तै यथास्थितिमा एमसिसी अगाडि बढाउन नहुने उसको धारणा छ ।
यस्तोमा वर्तमान सत्तारुढ गठबन्धन फुट्ने लगभग ‘पक्कापक्की’ देखिएको छ । प्रधानमन्त्रीको सचिवालयले पनि सोही अवस्था देखिएको जनाउँछ । ‘प्रधानमन्त्रीज्यू गठबन्धन लगभग फुट्ने निष्कर्षमा पुगिसक्नुभएको छ,’ स्रोत भन्छ, ‘आजको मन्त्रिपरिषद् बैठक अन्तिम हुने र साँझको गठबन्धन दलहरू बैठकले कुनै निष्कर्ष नदिने उहाँको बुझाइ छ ।’
यद्यपि दिउँसोको मन्त्रिपरिषद् बैठकमा घनीभूत छलफल गर्ने प्रधानमन्त्री देउवाको योजना छ । ‘माओवादी केन्द्रभित्र अर्थमन्त्री (जनार्दन शर्मा) र सभामुख (अग्निप्रसाद सापकोटा) नै बढी एमसिसीविरोधी देखिएको प्रचण्डले प्रधानमन्त्रीसँग गुनासो गर्नुभएको छ,’ सचिवालय स्रोतले भन्यो, ‘त्यसैले अर्थमन्त्रीसमेत मन्त्रिपरिषद् बैठकमा हुनुहुन्छ । त्यहाँ गठबन्धनका सबै मन्त्रीहरूसँग राम्रोसँग अन्तिम छलफल गर्ने प्रधानमन्त्रीज्यूको मुड छ ।’
एमसिसी संसदमा टेबल गर्न दिने विषयमा गठबन्धन दलहरू सकारात्मक भएमात्र सहमतिको सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालय बताउँछ । ‘त्यो सम्भावना पनि देखिएन । त्यसैले गठबन्धन भत्किने र नयाँ समीकरण वा ताजा जनादेश के हुने भन्ने विषयमा आज साँझैबाट अभ्यास थालनी हुन्छ,’ स्रोत भन्छ ।
के हुन्छ नयाँ अभ्यास ?
गठबन्धनको विकल्पमा प्रधानमन्त्री देउवाले दुईवटा विकल्प सोचेको स्रोत बताउँछ । ‘त्यसमा पहिलो प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग छलफल गर्ने छ, तर त्यो धेरै अघि बढिसकेको छैन,’ स्रोतले भन्यो ।
यद्यपि प्रधानमन्त्री देउवाका विश्वासपात्र पार्टी र सरकारमा रहेका नेताहरू एमालेका नेताहरूसँग छलफलमा जुटिसकेका छन् । ‘प्रधानमन्त्रीज्यू आफैँले कुरा गरिसक्नुभएको छैन, उहाँसँग नजिक रहेका नेताहरूले छलफल सुरु गरिसकेका छन्,’ स्रोत भन्छ, ‘साँझबाट त्यो छलफल घनीभूत होला ।’
दोस्रो विकल्पमा नयाँ जनादेश छ । संवैधानिक प्रक्रियाहरू पूरा गरेर नयाँ जनादेशमा पनि जान सकिने देउवाको बुझाइ छ । त्यसका लागि उनले कानुनी परामर्शहरू समेत लिन थालिसकेको स्रोत बताउँछ । ‘संविधानमा भएका सबै प्रक्रियाहरू पूरा गर्ने र चुनावमै जानसकिने पनि उहाँको मुड छ,’ स्रोत भन्छ, ‘यसैमा धेरै पार्टीका नेताहरूको पनि जोड छ ।’
वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत बुधबार एक मन्तव्यका क्रममा जेठमा नै प्रतिनिधिसभा निर्वाचन गर्नसकिने बताइसकेका छन् । अधिकांश काङ्ग्रेसका नेताहरूको पनि सोही कुरामा जोड छ । ‘अहिलेको उत्तम विकल्प भनेकै यही हो । गठबन्धन नरहे संवैधानिक प्रक्रिया पूरा गरेर यसैमा जानसकिने विकल्प प्रधानमन्त्रीज्यूलाई हामीले सुझाव पनि दिइसकेका छौँ,’ काङ्ग्रेसका एक पदाधिकारी भन्छन्, ‘उहाँको त्यसमा सकारात्मक धारणा छ ।’
यी दुई विकल्पमा जानुपूर्व दिउँसोको मन्त्रिपरिषद् बैठक र साँझको गठबन्धन दलको बैठक र त्यसपछि विपक्षी दलहरूसँग बैठक गरेर निष्कर्षमा पुगिने प्रधानमन्त्रीनिकट एक काङ्ग्रेस नेता बताउँछन् । ‘देशलाई अनिर्णयको बन्दी बनाउने, सरकार र सडकमा देखिएर द्वैध चरित्र प्रदर्शन गर्ने, विकास सहयोगलाई विवादित बनाएर अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धलाई बर्बाद पार्नेमा काङ्ग्रेस छैन,’ उनले भने, ‘त्यसको विकल्प काङ्ग्रेसले खोज्छ । त्यही दिशामा प्रधानमन्त्रीज्यू अघि बढिराख्नुभएको छ ।’