प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले एमसिसी जसरी पनि पास गर्नु पर्ने आफ्नो पूर्ववर्ती धारणा दोहोर्याएका छन् ।
पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै काङ्ग्रेस सभापतिसमेत रहेका देउवाले भने, ‘एमसिसीको बारेमा धेरै भ्रम छर्नुपर्दैन । पास गर्नुपर्छ, यो विकास परियोजना हो ।’
आज बिहानैदेखि ल्होत्से हलमा बसेको काङ्ग्रेस संसदीय दलको बैठक अहिले केहीबेर स्थागित भएको छ । बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकिएको छ । अन्तिम छलफलपछि निर्णयका बारेमा जानकारी दिइने छ ।
काङ्ग्रेस केन्द्रीय सदस्य शशाङ्क कोइरालाले पनि एमसिसी पास गर्नुपर्ने बताए । उनले भने, ‘सबै सांसदको धारणा पास गरौँ भन्ने नै छ ।’ कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले बुधबारको संसद बैठकमा एमसिसी टेबल हुने छोटो प्रतिक्रिया दिए ।
मंगलबार बिहान प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल गर्नुपर्ने धारणा राखेका थिए । त्यसमा दाहाल र नेपाल सहमत जस्तै भएको बुझिएको छ ।
सांसद नभएका रामशरण महललाई प्रधानमन्त्री देउवा बैठकमा बोलाएर धारणा राख्न दिएका थिए । बैठकमा महतले एमसिसीबारे भ्रम सिर्जना गरिएकाले त्यसलाई चिर्नु आवश्यक भएको बताए ।
अमेरिकाले फेब्रुअरी २८ तारिखसम्म एमसिसीको सम्बन्धमा निर्णय लिन आग्रह गरिरहेको छ । फेब्रुअरी २८ भन्दा उता कुर्न नसकिने अमेरिकी अडान छ । यस सम्बन्धमा सोमबार सभामुख अग्नि सापकोटाले दलहरूसँग परामर्शसमेत गरेका थिए ।
