प्रधानमन्त्री ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत समावेश गरिएको नेपालको नयाँ नक्शा जारी गरेको जस लिएर राष्ट्रवादी पहिचान बनाएकोमा पोखरेलको अभिव्यक्तिले शंका जन्माइदिएको छ । नयाँ नक्शासहितको विवरण भएको पुस्तक वितरण रोक्न लगाएको भनी सम्बन्धित मन्त्रीले नै अभिव्यक्ति दिएपछि बालुवाटार समेत समस्यामा परेको छ । यसलाई शिक्षामन्त्रीको अपरिपक्वता र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भन्दै उनलाई कारबाहीको तयारी भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । उनको भुमिका र अभिव्यक्तिका कारण प्रधानमन्त्री ओली रुष्ट भएको बुझिएको छ । ओलीले कुनैपनि बेला शिक्षामन्त्री पोखरेललाई हटाउने सक्ने विश्वस्त स्रोतले जानकारी दिएको छ ।
पुस्तकमा नेपालको क्षेत्रफल समावेश भएको र त्यो अमिल्दो रहेको कारण तत्काल रोक्न भनिएको जनाइएको छ । तर, कुटनीतिक मर्यादामा आँच आउने खालका शब्दहरु समावेश भएकाले यसलाई रोक्न लगाइएको बुझिएको छ । पाठ्यक्रम तयार गर्ने विज्ञहरुले केही शब्द पूर्वाग्रही भएर राखेको विषय समेतमा बालुवाटारले चासो राखेको बुझिएको छ ।
कुनैपनि देशको पाठ्यक्रममा अर्को देशलाई होच्याउने या द्वेष फैलाउने विषय समावेश गरिदैन । विवादास्पत विषयहरु पनि पाठ्य सामाग्रीमा राख्ने प्रचलन छैन । यो विषय बालुवाटारमा गम्भीरताका साथ उठेको बुझिएको छ ।