
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन गराउन मंगलबारदेखि तयारी अघि बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन गराउने घोषणासँगै आयोगले तयारी अघि बढाएको हो । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न–गराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
सामान्यतयाः निर्वाचनको तयारी गराउन आयोगलाई १ सय २० दिन चाहिन्छ । तर, निर्वाचन आउन ९४ औं दिन बाँकी रहेकोले निर्वाचनसम्बन्धी व्यवस्थापकीय, प्राविधिक र व्यावहारिक काम तीव्र गतिमा गर्नुपर्ने अवस्था रहेको आयोगले जनाएको छ । आयोगका निर्वाचनको तयारीको लागि यसबिचमा ५३ वटा क्रियाकलाप गर्नुपर्ने हुन्छ ।
२०७४ सालमा वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो भने अहिले एकैचरणमा गर्नुपर्ने स्थितिले पनि कामको चाप बढ्ने आयुक्तहरू बताउँछन् ।
निर्वाचनको मिति घोषणासँगै आयोगले फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम स्थगित गरेको छ । आयोगले निर्वाचनको मिति घोषणा गरेको दिन आइतबारसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्ने प्रवक्ता पौडेलले बताउनुभयो । आयोगले गत वर्ष पुस ५ गते प्रतिनिधिसभा निर्वाचनको निर्वाचन मिति तोकिएपछि त्यसयताको मतदाता नामावली अद्यावधिक गरेको थियो । त्यसअनुसार अहिले १ करोड ५४ लाख ८२ हजार मतदाता छन् । अहिले यसबिचमा झन्डै १४ लाखको हाराहारीमा नयाँ मतदाता संख्या दर्ता भएको छ । निर्वाचनमा एक करोड ८० लाखको हाराहारीमा मतदाता पुग्ने पनि आयोगले अनुमान गरेको छ ।