मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा आमाको हत्या गरी अन्त्येष्टि गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीको टोलीले पथरीशनिश्चरे नगरपालिका–२ जय चोकका ४८ वर्षीय कमल श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठमाथि ९० वर्षीय आमा जगमाया श्रेष्ठको हत्यापछि जलाएको आरोप छ । घटना माघ १२ गतेको हो । आमाको हत्यापछि छोराले जङ्गलमा लगेर जलाएको देखिएको नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका श्रेष्ठलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा १० दिन म्याद थप गरेको छ । प्रहरीले दाहसंस्कार गरिएकी वृद्धाको अस्थिपन्जर पनि फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार श्रेष्ठ परिवारमा जग्गाको विवाद थियो । विवादका कारण छोराले आमाको हत्या गरी अन्त्येष्टि गरेको प्रहरीले बताएको छ ।
पथरी शनिश्चरे नगरपालिका–२ का वडा अध्यक्ष यमप्रसाद गुरागाईका अनुसार श्रेष्ठ परिवारमा लामो समयदेखि जग्गासम्बन्धी विवाद थियो । वृद्धाका तीन छोरा छन् । उनी कान्छा छोरासँग बस्छिन् । विवाद चलिरहेकै बेला वृद्धा बेपत्ता भएपछि छरछिमेकी र आफन्तले खोजी गरेका थिए ।
‘आफन्तकोमा गएका होलान् भनेर खोजी भयो,’ वडा अध्यक्ष गुरागाईले भने, ‘गुरुङ समुदायले दासंस्कार गर्ने स्थान नजिकै जलाएको शङ्कास्पद स्थान देखिएपछि प्रहरीलाई खबर गरियो ।’ प्रहरीसमक्ष कमलले हत्या गरेको स्वीकार गरेका छन् ।
‘हत्या गरी ब्हिान करिब ४ बजे नै दाहसंस्कार गरेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘उहाँहरूबीच परिवारमा मेलमिलाप थिएन, जग्गाको विवाद थियो ।’
