Nepali Unicode | Preeti to Unicode

पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक एक सय ५१.६१ अङ्कले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अङ्कले बढेर दुई हजार नौ ३१.५९ विन्दुमा पुगेर रोकिएको थियो ।

यो साताका पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने सामान्य अङ्कले वृद्धि भएको छ । यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक एक सय ५१.६१ अङ्कले घटेर दुई हजार सात सय ७९.९८ विन्दुमा झरेको छ ।

अघिल्लो साता  ७३.५९ अङ्कले बढेको नेप्से परिसूचक यो साता भने एक सय ५१.६१ अङ्कले गिरावट आएको हो । पछिल्लो तीन साता लगातार रूपमा बढेको नेप्से परिसूचक यो साता भारी अङ्कले गिरावट आएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०.८३ अङ्कले घटेर दुई हजार नौ सय २०.५१ विन्दुमा झरेको थियो । तर, नेप्से परिसूचकमा गिरावट आए पनि आइतबार सेन्सेटिभ इन्डेक्स ०.०६ अङ्कले बढेको थियो भने फ्लोट इन्डेक्स १.२७ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६३ अङ्कले घटेको थियो । आइतबार कारोबारमा आएका दुई सय ३२ कम्पनीको एक करोड ४७ लाख चार हजार कित्ता सेयर सात अर्ब तीन करोड आठ लाख आठ हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।

त्यस्तै, साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक एक सय अङ्कको हाराहारीमा गिरावट आएको थियो । उक्त दिन ९९.८६ अङ्कले गिरावट आएर दुई हजार आठ सय २०.६५ विन्दुमा झरेको थियो । यसरी सोमबार कारोबारमा आएका दुई सय २८ कम्पनीको एक करोड ७० लाख ६३ हजार कित्ता सेयर आठ अर्ब ८८ करोड ८५ लाख रुपैयाँबराबरको कारोबार भएको थियो ।

मङ्गलबार भने नेप्से परिसूचकमा सामान्य अङ्कले गिरावट आएको थियो । उक्त दिन परिसूचक ५.५९ अङ्क घटेर दुई हजार आठ सय १५.०६ विन्दुमा झरेको थियो । त्यसैगरी, सेन्सेटिभ इन्डेक्स १.०९ अङ्क, फ्लोट इन्डेक्स ०.३७ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२४ अङ्क घटेको थियो । मङ्गलबार कारोबारमा आएका दुई सय २९ कम्पनीको ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता सेयर पाँच अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँबराबरको कोरोबार भएको थियो ।

मङ्गलबार सामान्य अङ्कले गिरावट आएको  नेप्से परिसूचक बुधबार ३८.४२ अङ्कले घटेर दुई हजार सात सय ७६.६१ विन्दुमा झरेको थियो । सेन्सेटिभ इन्डेक्स ६.६ अङ्क, फ्लोट इन्डेक्स २.८ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३४ अङ्क घटेको थियो । बुधबार कारोबारमा आएका दुई सय ३३ कम्पनीको ९३ लाख ५८ हजार सात सय कित्ता सेयर चार अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँबराबरको खरिद–बिक्री भएको थियो ।

तर यता, साताको अन्तिम कारोबारको दिन बिहीबार भने नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । साताको चार दिनको कारोबारमा लगातार ओरालो लागेको  परिसूचक सामान्य अङ्कले वृद्धि भएको हो । बिहीबार परिसूचक ३.२९ अङ्कले वृद्धि भएर दुई हजार सात सय ६९.९३ अङ्कमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.३८ अङ्क, फ्लोट इन्डेक्स ०.०५ अङ्कले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२१ अङ्कले घटेको छ । बिहीबार कारोबारमा आएका दुई सय २४ कम्पनीको ६६ लाख ५७ हजार दुई सय ३१ कित्ता सेयर तीन अर्ब ३४ करोड ३४ लाख १३ हजार ६ सय ८४ रुपैयाँको सेयर कारोबार भएको छ ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पत्तिमा पनि गिरावट आएको छ । गतसाता एक खर्ब पाँच अर्ब ४१ करोड रुपैयाँले बढेको लगानीकर्ताको सम्पत्ति यो साता भने दुई खर्ब १३ अर्ब ९० करोड रुपैयाँले गिरावट आएको छ । गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पुँजीकरण कुल ४१ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो । यो साता दुई खर्ब १३ अर्ब ९० करोड रुपैयाँले सम्पत्ति घटेर ३९ खर्ब २८ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर