Nepali Unicode | Preeti to Unicode

राष्ट्रियसभा सदस्यका रिक्त हुने सुदूरपश्चिम प्रदेशका तीन सिटका लागि आज मनोनयनपत्र दर्ता हुँदै छ । मङ्गलबार बिहान १० बजेदेखि मनोनयनपत्र दाखिला प्रक्रिया सुरु भएको छ ।

प्रदेशमा रिक्त हुने तीन सदस्यका लागि सङ्घीय सरकारका सत्ता गठबन्धन पाँच दलले सिट बाँडफाँड गरेर उम्मेदवारी दिएका छन् भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले एकल रूपमा उम्मेदवारी दिएको छ ।

प्रदेशमा खुला, महिला र दलिततर्फको राष्ट्रियसभा सदस्यको एकएक सिट आगामी फागुनदेखि रिक्त हुँदै छ । तीन सिटमा काङ्ग्रेसले खुला, नेकपा (एकीकृत समाजवादी) ले महिला तथा नेकपा माओवादी केन्द्रले दलित कोटामा उम्मेदवारी दिएका छन् । एमालेले तीनै क्लस्टरमा उम्मेदवार बनाएको छ ।

काङ्ग्रेसका तर्फबाट कैलालीका नारायणदत्त मिश्र, नेकपा (एस) का तर्फबाट कैलालीका मदनकुमारी (गरिमा) शाह र माओवादी केन्द्रबाट डडेल्धुराका जगत पार्की उम्मेदवार बनाइएका छन् ।

त्यस्तै, एमालले डोटीका डिल्लीराज भट्ट, बैतडीका नरेश विक र कैलालीका सन्तोष शर्मा थापालाई उम्मेदवार बनाएको छ ।

८८ वटा स्थानीय तहका एक सय ७५ र प्रदेशसभामा ५२ सदस्यसहित दुई सय २७ मतदाता रहेको सुदूरपश्चिम प्रदेशमा मतदाता सङ्ख्या र मतभारका दृष्टिकोणले पाँच दलीय गठबन्धनसँग पूर्ण बहुमत रहेको छ । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएका कारण र प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित झपटबहादुर बोहरा (अछाम) एमालेमा प्रवेश गरेपछि दुई स्थान (मत) रिक्त रहेका छन् ।

मत सङ्ख्या र मतभारका दृृष्टिले सुदूरपश्चिममा काङ्ग्रेस, नेकपा (एस), माओवादी केन्द्र र समाजवादी जनता पार्टीको पूर्ण बहुमत रहेको तथ्याङ्कले देखाएको छ भने मत सङ्ख्या र मतभारका दृष्टिले काङ्ग्रेस सबैभन्दा अगाडि रहेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०६५ को दफा ५६ मा प्रदेशसभा सदस्यको मतभार ४८ र गाउँपालिका/नगरपालिका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुखको मतभार १८ हुने व्यवस्था गरिएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एस) का सबैभन्दा बढी सदस्य रहेका छन् । नेकपा (एस) का १४, माओवादी केन्द्रका १३, काङ्ग्रेसका १२ र जसपा र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक सदस्य रहेका छन् । मतसङ्ख्याका आधारमा प्रदेशसभा गठबन्धन दलको कुल सङ्ख्या ४० रहेको छ ।

प्रदेशसभा सदस्य मतभारका दृष्टिले सुदूरपश्चिम प्रदेशमा नेकपा (एस) को मतभार ६ सय ७२ रहेको छ । त्यस्तै, माओवादी केन्द्रको ६ सय २४, काङ्ग्रेसको पाँच सय ७६ र एमालेको मतभार पाँच सय २८ रहेको छ । जसपा र लोसपाको मतभार ४८/४८ रहेको छ । प्रदेशसभामा सत्ता गठबन्धन दलको कुल मतभार एक हजार नौ सय ६० रहेको छ ।

त्यस्तै, प्रदेशका ८८ वटा स्थानीय तहका एक सय ७५ मतदातामध्ये काङ्ग्रेसका ७४ मतदाता रहेका छन् । त्यस्तै, एमालेका ७१, माओवादी केन्द्रका १७ र नेकपा (एस) का १३ जना मतदाता रहेका छन् । गठबन्धन तीन दलको स्थानीय तहमा कुल मतदाता सङ्ख्या एक सय चार रहेको छ ।

स्थानीय तहमा मतभारका दृष्टिले पनि काङ्ग्रेस सबैभन्दा अगाडि रहेको छ । प्रदेशमा स्थानीय तहमा काङ्ग्रेसको मतभार एक हजार तीन सय ३२ रहेको छ भने एमालेको एक हजार दुई सय ७८ रहेको छ ।

त्यस्तै माओवादी केन्द्रको तीन सय ६ र नेकपा (एस) को दुई सय ३४ रहेको छ । स्थानीय तहमा राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि गठबन्धन तीन दलको मतभार एक हजार आठ सय ७२ रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा र स्थानीय तहको गरी गठबन्धन दलको मतसङ्ख्या एक सय ४४ रहेको छ भने मतभार तीन हजार आठ सय ३२ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर