Nepali Unicode | Preeti to Unicode

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी असमान तामाङले श्रीमतीलाई सस्तोमा माछा नदिएको भन्दै पसलमै छापा हानेको आरोप लागेको छ ।

सिडिओको सरकारी गाडी प्रयोग गरेर श्रीमतीलाई माछा किन्न पठाएको र सस्तोमा नपाएपछि प्रहरी लगेर छापा हानेको व्यवसायीहरूको आरोप छ ।

पुस १८ गते आइतबारका दिन प्रजिअको सरकारी सवारीसाधन ना१का ४९९ नम्बर गाडी प्रयोग गरी उनकी श्रीमती माछा किन्न अन्दाजी तीन बजेको समयमा दिव्यनगरस्थित नेपाल मत्स्य व्यवसायी सङ्घ चितवन जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीको फार्ममा पुग्छिन् । पोखरीबाट निकालेको माछा चितवन फिस हाउसले खरिद गरी गाडीमा लोड गरिसकेको अवस्थामा पनि सदासयतापूर्वक पोखरीकै दरमा चितवन फिस हाउसले प्रतिकेजी तीन सयका दरले बिक्री गरेको थियो ।

यो मूल्य महँगो भएको बताएपछि बेलुका ६ बजेतिर प्रजिअ तामाङकै नेतृत्वमा रिजाल चोकमा रहेको चितवन फिस हाउसमा प्रहरी प्रशासनसहित आएर सञ्चालक लुलाराज तामाङलाई गालीगलौज गरी डिप फ्रिजमा तालासमेत लगाएको विज्ञप्तिमा भनिएको छ । घटनालाई प्रशासनको दादागिरीको रूपमा किसानहरूलाई बुझ्न बाध्य बनाएको भन्दै पदीय मर्यादाविपरित क्रियाकलापप्रति घोर निन्दा एवम् भत्सर्ना गरिएको छ ।

हिजो मत्स्य व्यवसायी र जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मासँग छलफलमा जाँदासमेत सकारात्मक परिणाम निस्कन नसकेको उनीहरूको भनाइ छ । अहिले भ्याकुम सिल प्याक गरी पसलमा रहेको माछाहरूको नमुना गुणस्तर परीक्षणका लागि पठाइएको छ ।

नेपाललाई माछामा आत्मनिर्भर बनाउन मत्स्य व्यवसायीहरू अहोरात्र मेहनत गर्दा प्रशासनबाटै भएको व्यवहार सह्य नभएको जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीले बताए ।

‘बजारमा फर्मालिनयुक्त भारतीय माछाहरूको अनुगमनका लागि गरिएको निवेदनलाई बेवास्ता गर्दै ताजा तथा जिउँदो माछाको बजार प्रवर्धनका लागि प्रतिबद्ध किसान एवं व्यवसायीहरूप्रति गरिएको दुरुत्साहनको निन्दा एवम् भत्सर्ना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय समितिका अध्यक्ष अम्बिकाप्रसाद अधिकारी र जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीले हस्ताक्षर गरी विज्ञप्ति जारी गर्दै घटनाको विरोध जनाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर