
वाग्मती प्रदेशको राजधानी हेटौडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी माघ १२ गतेबाट हुने राष्ट्रियसभा निर्वाचनका लागि हेटौडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
१२ गतेबाट हुने निर्वाचनका लागि बिहीबार एक कार्यक्रमका बीच हेटौडा उपमहानगरपालिका पाँचमा प्रदेश निर्वाचन आयोगको कार्यालय स्थापना गरिएको छ ।
राष्ट्रियसभामा वाग्मतीबाट एक जना महिला र अन्य एक जना गरी दुई जनाको पद रिक्त हुँदै छ । रिक्त रहेको सो पदमा माघ १२ गते हुने निर्वाचनको कार्यक्रम तोकिएको छ । उक्त कार्यालयबाट सो पदका राष्ट्रियसभा सदस्यहरुको निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।
उक्त निर्वाचनका लागि जिल्ला अदालत मकवानपुरका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय हेटौडाले पुस १७ गते मतदाताको नामावली प्रकाशन गर्नेछ ।
पुस २० गते १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेको जानकारी दिएको छ । माघ १२ गते बिहान ९ बजे देखि ३ बजेसम्म मतदान कार्यक्रम सञ्चालन गरिनेछ । साथै उपमहानगरपालिका वडा नम्बर आठमा रहेको हेटौडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदान स्थल तोकिएको छ ।
वाग्मतीमा प्रदेशसभाका एक सय नौ जना सदस्यहरू र प्रदेशका १३ जिल्लाका एक सय १९ वटा स्थानीय तहका दुई सय ३८ प्रमुख र उपप्रमुख गरी कुल तीन सय ४८ जनाले राष्ट्रियसभा निर्वाचनमा मतदाता गर्ने छन् ।