
साफ फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ ।
मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक फाइनलमा स्थान बनाउँदै उपविजेता भएको टोलीलाई जनही पाँच लाख नगदसहित सम्मान गरेका हुन् । यसअघि १३औँ संस्करणको साफ उपविजेता भन्दै स्वदेश फर्किएको टोलीलाई सरकारले कात्तिक १ गतेको मन्त्रिपरिषदको निर्णयबाट जनही पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।
सोहीअनुसार सरकारले २३ खेलाडीलाई पाँचच लाख, तीन जना प्रशिक्षकलाई जनही तीन लाख र चार अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको हो । युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री महेश्वर गहतराज पनि सहभागी भएका थिए । साफ फुटबलको इतिहासमा पहिलो पटक फाइनल प्रवेश गरेको नेपाल भारतसँग पराजित भएको थियो ।
पुरस्कार वितरणपछि बोल्दै प्रधानमन्त्री देउवाले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिचय बनाउन खेलाडीले गरेको मेहनतप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी, कप्तान किरण चेम्जोङ र रोहित चन्द भने उपस्थित थिएनन् । कप्तान किरण माल्दिभ्समा र रोहित इन्डोनेसियामा व्यावसायिक फुटबल खेल्न गएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह पनि नेपाल बाहिर रहेका छन् ।