Nepali Unicode | Preeti to Unicode

नियुक्तिलगतै कामको गति बढ्ने बताएका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्री नै नभएको मन्त्रालयमा कार्यकर्तालाई स्वकीय सचिवको जिम्मेवारी दिएका छन् । मन्त्रिपरिषद् विस्तार र  विकास निर्माणको काममा अलमलिएका मुख्यमन्त्री राईले मन्त्री नभएको दुईवटा मन्त्रालयमा चार जना कार्यकर्ता नियुक्त गरेका हुन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा चार जनालाई स्वकीय सचिवमा नियुक्त गरेका हुन् । ती मन्त्रालयमा मन्त्री छैनन् । सरकार विस्तारका लागि ती मन्त्रालय फुटाउने गृहकार्य भइरहेको छ ।

मुख्यमन्त्री राईले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रमुख स्वकीय सचिवमा निर्मल भण्डारी र स्वकीय सचिवमा रोहित गौतमलाई नियुक्त गरेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रमुख स्वकीय सचिवमा किसन भगत र स्वकीय सचिवमा उदय यादवलाई नियुक्त गरेका छन् ।

नियुक्ती पाएका चार जना नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ता हुन् । मुख्यमन्त्री राईले मुख्यमन्त्री कार्यालयको सचिवालयमा पनि पाँच जनालाई नियुक्ति दिएका छन् ।

पाँच दलीय गठबन्धनको समर्थनमा १६ कात्तिकमा नियुक्त भएका मुख्यमन्त्री राईले नेपाली काङ्ग्रेसको महाधिवेशनका कारण काम अघि बढ्न नसकेको बताउँछन् । काङ्ग्रेस महाधिवेशनपछि सरकारको कामको गती बढ्ने उनको भनाइ छ ।

मुख्यमन्त्री राईसँगै आर्थिक मामिला तथा योजनामन्त्रीमा ईन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकासमन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केदार कार्की र सामाजिक विकासमन्त्रीमा जयराम यादव र सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्बाहाम्फे नियुक्त भएका थिए ।
मन्त्रालय विभाजनपछि मात्रै सरकार विस्तारको तयारीमा रहेका मुख्यमन्त्री राईसँग उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय छ । मन्त्रिपरिषद् विस्तार हुने अवस्थामा मुख्यमन्त्री राईले स्वकीय सचिव नियुक्त गरेपछि उनको आलोचना भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर