Nepali Unicode | Preeti to Unicode

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले शतप्रतिशत राजावादी भएको पार्टीमा पनि पूर्वराजा ज्ञानेन्द शाहले ठाडो र फोहोरी हस्तक्षेप गरेको बताएका छन् । हालै सम्पन्न राप्रपाको एकता महाधिवेशनबाट पराजय व्यहोरेका थापाले ‘राजा’बाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुनसक्ने बताएका छन् ।

मङ्गलबार प्रेस वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘विगतमा झैँ राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने ?’

थापाले भोलि राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्पतक्षेप हुँदैन भनेर भन्ने आफूहरूको नैतिक धरातल समाप्त भएको उनले उल्लेख गरेका छन् ।

अत्यन्त प्रतिकुल अवस्थामा पनि राजसंस्थाको एजेन्डा बोकेर हिँडेको आफू र राप्रपालाई अहिले परेको पिर यही हो भन्दै उनले अहिले आफूमा गम्भीर नैतिक र धर्मसङ्कट परेको जनाएका छन् ।

राप्रपालाई भजन मण्डली बनाउने गलत नियतले आफूलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको भन्दै थापाले लेखेका छन्, ‘राप्रपालाई भजन मण्डली बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौँ ।’

राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा अब राप्रपाभित्र बहस सुरू हुने उनले उल्लेख गरेका छन् ।

उनले हालै सम्पन्न पार्टीको महाधिवेशन सफल पार्न सहयोग गर्नुहुने सबैमा आभार व्यक्त गरेका छन् । उनले महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामनासमेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर