भारत र रुसबीच हतियार खरिदको सम्झौता भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यतिबेला भारतको भ्रमणमा छन् ।
उनको भारत भ्रमणको सन्दर्भ पारेर हतियार खरिद र सैन्य प्राविधिक सहयोगको विषयमा सम्झौता भएको हो । पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच २०२१–०३१ का लागि सैन्य प्राविधिक सहयोग व्यवस्थाअन्तर्गत भारत–रसिया राइफल्स प्रा.लि. मार्फत छ लाख थान एके–२०३ राइफल खरिद गर्ने सम्झौतामा भएको छ ।
दुई देशबीच मन्त्रीस्तरीय वार्ता पनि भएको थियो । पुटिनले भारतलाई एक महान् शक्ति र असल मित्रको रूपमा आफूले बुझेको बताएका छन् । भारत–रूस वार्षिक शिखर सम्मेलनको उद्घाटन सत्रमा सोमबार मन्तव्य दिँदै राष्ट्रपति पुटिनले यस्तो बताएका हुन् ।
मोदीसँगको भेट वार्ताका क्रममा पुटिनले दुई राष्ट्रहरू बीचको सम्बन्ध प्रगाढ बनेको र भविष्यलाई आफूले नियालीरहेको उल्लेख गरेका छन् । गत वर्ष भारत र रुस बीचको व्यापार १७ प्रतिशतले घटेको थियो । तर २०२१ को पहिलो ९ महिनामा दुवै देशको व्यापार ३८ प्रतिशतले बढेको छ ।
रुसी राष्ट्रपतिको भारत भ्रमण भारत र रुसमा हुने वार्षिक शिखर सम्मेलनको परम्पराको निरन्तरता हो । भारतीय प्रधानमन्त्री मोदीले भने कोभिड–१९ महामारीका कारण उत्पन्न चुनौतीका बाबजुद भारत–रुस सम्बन्धमा कुनै परिवर्तन नआएको बताएका छन् ।
उनले भारतले पनि रुसलाई एक असल मित्रका रूपमा लिएको बताए । दुवै नेताले अफगानिस्तानको पछिल्लो अवस्थाबारे पनि कुराकानी गरेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।
