
प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः आफू काङ्ग्रेसको सभापति भए राम्रो काम गर्ने बताएका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सो कुरा बताएका हुन् ।
उनले भने, ‘फेरि म अन्तिम पटकका लागि सभापति पदमा रहन चाहन्छु । म पार्टीको विधानबमोजिम एकपटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो । म फेरि सभापति भएँ भने अझै राम्रो गर्न सक्छु।’ त्यसका लागि आफूलाई सहयोग गर्न देउवाले सबैलाई आग्रह पनि गरे ।
‘मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु,’ सञ्चारकर्मीसँग देउवाले भने, ‘तपाईंहरूमार्फत सबैलाई आग्रह गर्न चाहन्छु । एकपटक मलाई सहयोग गरिदिनुस् ।’ साथै उनले आसन्न १४औं महाधिवेशनमा काङ्ग्रेसले शक्ति प्रदर्शन गरेर जनतालाई दुःख दिने पक्षमा नरहेको बताए ।
‘हामी महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैनौँ । एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइन,’ देउवाले भने, ‘अहिले कोरोनाको नयाँ भेरियन्ट आइसकेको छ। त्यसैले काङ्ग्रेसले त्यो जोखिम मोल्दैन। काङ्ग्रेस उदार पार्टी हो, कसैलाई दुःख दिन चाहँदैन ।’