
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा कमल थापा र राजेन्द्र लिङ्देनले मनोनयन दर्ता गरेका छन् । काठमाडौँको भृकुटीमण्डपमा तीन दिनदेखि जारी एकता महाधिवेशनमा शुक्रबार अध्यक्ष पदमा थापा र लिङ्देनले उम्मेदवारी दर्ता गरेका हुन् ।
निर्वाचन समितिका सदस्य राजु बस्नेतका अनुसार अध्यक्ष उपाध्यक्ष, महामन्त्री र केन्द्रीय सदस्य गरेर अहिलेसम्म एक सय ४१ जनाले फारम बुझाइसकेका छन् । दिउँसो साढे १ बजेसम्मका लागि समय तोकिएकाले थप फारम आउनेक्रम रहेको उनको भनाइ छ ।
राप्रपामा थापा र लिङ्देनले प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका हुन् । एकता महाधिवेशन भनिएपनि राप्रपामा थापा र लिङ्देनबीच चुनावी प्रतिस्पर्धा चर्को देखिएको छ ।