पार्टी महाधिवेशनबारे छलफल गर्न आज (मङ्गलबार) नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक बस्दैछ ।
अहिले बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक बस्न लागेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
हिजो (सोमबार) बैठक बस्ने भनिएपनि ‘तयारी नपुगेको’ भन्दै स्थगित गरी आजलाई सारिएको हो ।
कार्यालय सचिव तामाङका अनुसार बैठकमा महाधिवेशनका लागि पाँच प्रतिशत प्रतिनिधि मनोनयन विषयमा छलफल हुनेछ ।
केन्द्रीय कमिटीमा पेश गरिने प्रतिनिधिको नाम तयार गर्न आजको स्थायी कमिटी बैठक बस्न लागेको हो । एमाले विधानअनुसार महाधिवेशनका लागि पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्छ ।
मनोनीत हुने प्रतिनिधिको नाम आज प्रस्ताव हुने र अर्काे बैठकले अन्तिम रूप दिने तामाङले बताए । महाधिवेशनमा ९५ प्रतिनिधि केन्द्रीय कमिटीले मनोनीत गर्नेछ ।
मङ्सिर १० देखि १२ सम्म चितवनमा एमाले महाधिवेशन आयोजना गरिएको छ ।
