Nepali Unicode | Preeti to Unicode

कैलाली क्षेत्र २ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष भीम रावल पक्षले समानान्तर किसिमले  महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारी गरेको छ ।

कैलालीको लम्कीस्थित टीकापुर रोडमा रहेको एक होटलमा रावल पक्षले आज १० बजे महाधिवेशन प्रतिनिधि छान्नेगरी भेला बोलाएको छ ।

लम्कीचुहा नगरपालिकाका मेयर तथा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य महादेव बजगाईँले महाधिवेशन प्रतिनिधि चयन गर्ने सार्वजनिक सूचना गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखका छन्– ‘मङ्सिर १०–१२ गतेसम्म चितवनमा हुन गइरहेको दसौं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नं.२ बाट छ पुरुष र तीन महिला गरी जम्मा नौ जना प्रतिनिधि छनोट गर्न देहायको मिति, समय र स्थानमा कैलाली क्षेत्र नं.२ का सम्पूर्ण सङ्गठित सदस्यको भेला आयोजना गरी छनोट गर्नुपर्ने भएकाले यस क्षेत्रमा रहेका हाम्रो पार्टीका सम्पूर्ण सङ्गठित सदस्य कमरेडले यसै सूचनालाई आधार मानी उपस्थित भइदिनहुन हार्दिक अनुरोध गर्दछु ।’

पार्टीले गत शनिबार नै महाधिवेशन प्रतिनिधि छानिसकेको छ । तर रावल पक्षले महाधिवेशन प्रतिनिधि छनोट भइसकेको भन्ने ‘भ्रम’मा नपर्नसमेत अपिल गरेको छ ।

एमालेमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष रावलबीचको मतभेद केही समययता सतहमै देखिने गरेको छ । रावलले महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार भएको पनि बताउनेगरेका छन् ।

एमाले सुदूरपश्चिमको जिम्मेवारी नेकपा (माओवादी) केन्द्रबाट एमाले प्रवेश गरेका लेखराज भट्टलाई दिएपछि रावल ओलीसँग असन्तुष्ट छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर