अफगानिस्तानमा गरिबीका कारण अभिभावकहरूले आफ्नै छोराछोरी बेचिरहेका छन् ।
द वाल स्ट्रिट जर्नलको नयाँ रिपोर्टले जनाएअनुसार गरिबीका कारण अभिभावकहरू ऋण तिर्नका लागि आफ्नै छोराछोरी अरुलाई बेच्न बाध्य भएका हुन् । पश्चिमी क्षेत्रमा बस्दै आएकी ४० वर्षीया सलेहाले आफ्नी तीन वर्षीया छोरीलाई ५५० डलर ऋण लिएको व्यक्तिलाई बेचेकी छिन् ।
सरसफाइको काम गर्ने सलेहा दैनिक कामबाट केबल ७० सेन्ट कमाउँछिन् भने उनका पति बेरोजगार छन् ।
ऋण दिएका व्यक्ति खलिद एह्मदका अनुसार आफूसँग पनि पैसा नभएको हुँदा ऋण चुक्ता गर्नका लागि तीन वर्षीया छोरी लैजानुबाहेक कुनै विकल्प थिएन । तालिबानको अचानक नियन्त्रणपछि अफगानिस्तान अधिक गरिबीतर्फ मोडिइरहेको संयुक्त राष्ट्र सङ्घले गत महिना चेतावनी दिएको थियो ।
अबको एक वर्षभित्रै अफगानिस्तानमा गरिबीको दर बढेर ९७ देखि ९८ प्रतिशतसम्म पुग्ने युएनडिपी एसिया–प्यासिफिकका निर्देशक कन्नी विग्नराजाले बताए ।
पछिल्लो दुई दशक अफगानिस्तानको आर्थिक स्थितिमा धेरै सुधार आएको थियो । तर राजनीतिक अस्थिरका कारण त्यो सबै भङ्ग हुने खतरा बढ्दै गएको छ ।
