
सोह्र श्राद्ध अर्थात १६ औँ दिनसम्मको पितृपक्ष आज (बुधबार) सकिँदै छ । आज सोह्र श्राद्धको अन्तिम दिन पनि हो ।
दसैँअघि पूर्णीमाबाट सुरु हुने पितृपक्ष औँसीको दिनमा समापन हुने गरेको छ । आजको दिनलाई सर्वपितृ औँसी पनि भनिन्छ । पितृका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने १६ दिन आफ्ना दिवङ्गत भएका पितृको सम्झना एवम् सम्मान गर्ने गरिन्छ ।
चाडपर्वअगावै पितृहरूप्रतिको समर्पण र सद्भावले हाम्रो संस्कारलाई जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । मृत्यु भएका पितृको तिथिमा हिन्दु धर्मावलम्बीहरुले कपाल खौरेर र नयाँ जनै फेरेर पितृकर्म अर्थात श्राद्ध गर्ने प्रचलन छ ।
आजको दिनचाहिँ यसअघि श्राद्ध गर्ने तिथी–मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गरिन्छ । त्यही भएकाले यस दिनलाई सोह्र श्राद्ध भनिएको हो । अन्तिम अर्थात १६ औँ दिन सोह्र श्राद्धको महत्वपूर्ण दिन हो । यस दिन पशुपति, बराहक्षेत्र, जनकपुर, मुक्तिनाथ, दामोदर कुण्ड, रिढी, देवघाटलगायत धार्मिक तीर्थस्थलहरुमा गएर श्राद्ध पनि गरिन्छ ।
हिन्दु परम्पराअनुसार छोरा तथा नातिले आफ्ना पितृहरूको श्राद्ध गर्नुपर्ने चलन छ । हिन्दु संस्कारअनुसार श्राद्ध एकदमै महत्वपूर्ण कर्म हो । श्राद्ध परिवारभित्रको ज्येष्ठ पुत्र (छोरा)ले गर्ने परम्परा छ । यद्यपि सर्वपितृ औँसीका दिन भने पुत्रले आफ्ना पितापक्ष र मातापक्ष दुवैतर्फका पितृहरूलाई तर्पण दिने गर्छन् ।
पुत्रलाई मोक्ष प्राप्तिका लागि भने हिन्दु संस्कारमा श्राद्ध गर्ने चलन भए पनि यसलाई कतिपयले नारीविरोधी र लैङ्गिक असमानतासित जोडेर हेर्ने गरेका छन् । तर श्राद्धमा छोरीचेली अर्थात् महिलाको सहभागिता पनि उत्तिकै महत्वपूर्ण हुन्छ । पितृहरूको उद्धारका लागि घर–घर र तीर्थस्थलहरूमा श्राद्ध गरी पितृहरूको सम्झना गर्ने धार्मिक प्रचलन छ ।
सनातन धर्मको हरेक शुभकार्य र संस्कारअनुसार कर्ताका रूपमा पुत्रको उपस्थितिलाई प्राथमिकता दिए पनि महिलाको उपस्थितिसमेत उत्तिकै महत्व हुन्छ । भान्जा–भान्जी, कुटुम्ब र चेलीबेटीको उपस्थितिबिना श्राद्धकर्म पूर्ण हुन सक्दैन भन्ने धार्मिक मान्यता छ।
पितृ कार्यका लागि छोरा र छोरी उत्तिकै समान छन् । आजभोलि पितृकर्ममा छोरीहरूको समान सहभागिता र कर्ताकै रूपमा भूमिका सराहनीय छ । धर्म अनि संस्कारले छोराछोरी दुवैलाई उत्तिकै ठाउँ दिएको छ ।
श्राद्ध गर्नाले पितृहरूले आफ्ना सन्तानलाई ऋणमुक्त गरिदिने तथा चित्त शुद्ध गराउने मान्यता छ । श्राद्ध गर्दै पितृप्रति श्रद्धाभाव व्यक्त गरिसकेपछि पिण्ड दिएर गहुँत (गाईको पिसाब) खाने चलन छ । प्रत्येकवर्ष सोह्र श्राद्ध सकिएपछि हिन्दु धर्मावलम्बीको महान पर्व दसैँ औपचारिक रूपमा सुरु हुन्छ । दसैँको उमङ्ग र उत्साह सुरु हुन्छ ।
सर्वपितृ औँसीका भोलिपल्टबाट दसैंको नवरात्रि सुरु हुन्छ । नवरात्रको पहिलो दिन दसैँको घटस्थापना हो । घटस्थापनामा जमरा राख्ने र सरसफाई गरेर त्यहाँ ९ दिनसम्म पूजा गर्ने प्रचलन छ । टाढा रहेका परिवारका सदस्य र आफन्त भेटघाट गरेर एकापसमा माया र सद्भाव साटेर हर्षोल्लाससाथ मनाउने महान् पर्वका रूपमा दसैँलाई लिइन्छ ।