नेकपा एमालेको विधान महाधिवेशन आजबाट सुरु हुँदै छ । एमालेले आगामी चार वर्षका लागि पार्टीको नीति र कार्यक्रम गर्न असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा प्रथम विधान अधिवेशन गर्दै छ ।
विगतमा महाधिवेशनकै बेलामा नीति र नेतृत्व दुवै तय गर्दै आएको एमालेले यसपटक भने विधान अधिवेशनबाट नीति र कार्यक्रम ल्याउन लागेको हो । मङ्सिरमा हुने १०औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने एमालेले कार्यक्रम तय गरेको छ । यही योजनाअनुसार विधान अधिवेशन हुन लागेको हो ।
प्रथम विधान महाधिवेशनले मुख्यतः तीनवटा विषयमा पार्टीको सिद्धान्त, कार्यदिशा र कार्यक्रम तय गर्दै छ । यसका लागि अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सङ्गठनात्मक प्रस्ताव र सङ्गठन विभागका प्रमुख विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि विधान महाधिवेशनमा सहभागी हुने करिब ६ हजार प्रतिनिधिले छलफल गर्नेछन् ।
