Nepali Unicode | Preeti to Unicode

युरोपको दोस्रो ठुलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगमा इटालियन क्लब नापोली स्पार्टक मस्कोसँग पराजित भएको छ । समूह चरणको दोस्रो खेलमा नापोली घरेलु मैदानमा मस्कोसँग ३–२ गोलले स्तब्ध भएको हो ।

खेलको सुरुआती मिनेटमा नै इलिफ इल्मासले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । खेलको ३०औँ मिनेटमा मारियो रुईले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा सीमित बनेको थियो ।

दोस्रो हाफमा भने मस्कोले खेल आफ्नो पक्षमा लियो । ५५औँ मिनेटमा क्विन्सी प्रोमेसले गोल गर्दै मस्कोलाई बराबरीमा फर्काए । ८०औँ मिनेटमा मिखाइल इग्नाटभले गोल गरेपछि मस्कोले अग्रता बनायो ।

८२औँ मिनेटमा भने म्याक्सिमिलियानो काउफ्राइजले रातो कार्ड पाएका थिए । त्यसपछि पाहुना टोली पनि १० खेलाडीमा सीमित बन्न पुग्यो । ९०औँ मिनेटमा प्रोमेसले दोस्रो गोल गर्दै मस्कोलाई ३–१ गोलको अग्रता दिलाए । इन्ज्युरी समयमा भिक्टर ओसिमहेनले गोल गरेपनि नापोली खेलमा फर्किन सकेन ।

जितसँगै समूह ‘सी’को मस्कोले दुई खेलमा तीन अङ्क जोडेको छ । नापोली भने एक अङ्कका साथ तेस्रो स्थानमा छ । यसै समूहको लेइस्टर सिटी गए रातिको अर्को खेलमा लेगिया वार्सपसँग १–० गोलले पराजित भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर