निक्कै चासोपूर्वक हेरिएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विधान महाधिवेशन आज (शुक्रबार)देखि सुरु हुँदै छ ।
करिब छ हजार जना प्रतिनिधिको उपस्थितिमा महाधिवेशन ललितपुरको गोदावरीमा सुरु हुने भएको हो । महाधिवेशनबाट एमालेको आगामी पाँच वर्षका लागि पार्टीको साङ्गठनिक संरचना र राजनीतिक कार्यदिशा तय गरिने छ ।
२०७४ सालको निर्वाचनमा एमालेले माओेवादीसँग मिलेर चुनाव लडेको थियो । एमाले र माओवादी मिलेर नेकपा (नेपाल कम्युनिष्ट पार्टी) पनि बन्यो । तर पार्टी एकता लामो समयसम्म टिक्न सकेन ।
पार्टी एकता बदर भएपछि एमाले पूर्ववत अवस्थामा फर्किएको, पाँच वर्षसम्म सरकार सञ्चालनको जनमत पाए पनि तीन वर्षमै सरकार ढलेको, सरकारको नेतृत्व गर्दा दुई पटकसम्म विघटन गरेको संसद सर्वोच्च अदालतले ब्युँताइदिएको र यही विवादका कारण एमाले फुटेको अवस्थामा आयोजना गरिएको विधान महाधिवेशनलाई निक्कै महत्वका साथ हेरिएको छ ।
विधान महाधिवेशनमा एमालेका पूर्वप्रमुखहरु कोही पनि नरहने पक्का भइसकेको छ । पूर्वपार्टी प्रमुख एवम् पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनाल एमालेबाट अलग भइसकेका छन् । नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भइसकेको छ ।
एमालेका संस्थापक नेता मुकुन्द न्यौपाने पनि नेपाल–खनालकै पार्टीमा छन् । २०५४ सालमै एमाले छाडेका सीपी मैनाली नेकपा मालेका महासचिव हुन् ।
विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, सङ्घ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभागबाट चुनिएका प्रतिनिधिहरु, जिल्ला कमिटीका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, पालिकाका प्रमुख तथा उपप्रमुखहरु, भातृ सङ्गठनका प्रतिनिधिहरु, प्रवास कमिटीका प्रतिनिधिहरु सहभागी हुने छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने विधान महाधिवेशन तीन दिनसम्म चल्ने छ । उद्घाटनपछि पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । महाधिवेशनको बन्दसत्र भोलि अर्थात शनिबारदेखि सुरु हुने छ ।
बन्दसत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । ती प्रतिवेदनहरुमाथि समूहगत छलफल तथा समूह नेताबाट निष्कर्ष सुनाउने र त्यसपछि सुझावलाई समेटेर प्रतिवेदनलाई पारित गरिने छ ।
विगतमा राष्ट्रिय महाधिवेशनबाट नीति र नेतृत्व टुङ्गो लगाउँदै आएको एमालेले यस पटक भने नीति तय गर्न अलग्गै विधान महाधिवेशन आयोजना गरेको हो । नवौं महाधिवेशन २०७१ सालमा आयोजना गरेको एमालेले आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । नवौं महाधिवेशनबाट ओली पार्टीको अध्यक्ष बनेका हुन् ।
