Nepali Unicode | Preeti to Unicode

विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका कर्मचारीलाई बन्धक बनाएर आक्रमण एवम् कुटपिट गर्ने विराटनगर महानगरपालिका–१२ स्थित इष्ट्रन स्टार होटलका सञ्चालक तुलसी पोखरेलले माफी मागेका छन् ।

जग्गा कारोबारीसमेत रहेका विराटनगर–१ घर भएका पोखरेलले आफ्नै होटलमा बन्धक बनाएर प्राधिकरणका इलेक्ट्रिसीयन विराटनगर–३ घर भएका ५७ वर्षीय तारानाथ खतिवडामाथि बुधबार बिहान आक्रमण गरेका हुन् । होटलले लामो समयदेखि विद्युत महसुल नबुझाएका कारण इलेक्ट्रिसीयन खतिवडा लाइन काट्नलाई प्राधिकरणको टोली लिएर होटलमा पुगेका थिए ।

लाइन काट्न अवरोध पुर्याएका पोखरेलले अश्लिल शब्द प्रयोग गरेर दुव्र्यवहार गर्दै सुरक्षागार्ड र कर्मचारीको सहयोगमा खतिवडामाथि आक्रमण गरेका थिए । होटलको गेट बन्द गरेर खतिवडालाई बन्धकसमेत बनाइएको थियो । प्रहरी र प्राधिकरणको टोली पुगेर उनको उद्धार गरेको हो ।

आक्रमणमा परेका खतिवडाको गाला सुन्निनुका साथै ओठ फुटेको र निधरको देव्रो पाटो फुलेको थियो । प्राधिकरणका विराटनगर प्रमुख रोशन खड्कालाई पनि टेलिफोनमा पोखरेलले अश्लिल शब्द प्रयोग गरेर गालीगलौज गर्दै धम्क्याएका थिए ।

प्राधिकरणका अनुसार पोखरेल सञ्चालक रहेको होटलले विद्युत प्रयोग गरेवापत प्राधिकरणलाई ३ लाख १४ हजार रूपैयाँभन्दा बढी शुल्क बुझाउन बाँकी छ । त्यसमा २५ प्रतिशत जरिवाना थप हुन्छ । होटलले लामो समयदेखि बक्यौता रकम नतिरेको पाइएपछि प्राधिकरणले कारबाही अघि बढाउँदा पोखरेल आक्रोसित बनेर कर्मचारीमाथि नै खनिएको प्रहरीले जनाएको छ ।

कुटपिटपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो । प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाउने भएपछि पोखरेलले माफी मागेर आगामी दिनमा घटना नदोहोर्याउने प्रतिवद्धता जनाएका छन् ।

प्रहरी कार्यालयमै प्राधिकरणका कर्मचारी र पोखरेलबीच छलफल पनि भएको थियो । त्यसक्रममा उनले आफू आवेसमा आएर घटना गराएको र आगामी दिनमा कुनै पनि गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाउँदै माफी मागेको प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमुख रोशन खड्काले बताए ।

पोखरेल एमालेमा रहेर राजनैतिक गतिविधीमा सक्रिय छन् । उनी प्रदेश १ की तत्कालीन सामाजिक विकास मन्त्री उषाकला राईका प्रमुख सल्लाहकारसमेत हुन् । सञ्चारकर्मीसँगको कुराकानीमा भने पोखरेलले कसैलाई पनि कुटपिट र आक्रमण नगरिएको दाबी गरेका थिए ।

पहुँचका भरमा आतङ्क मच्चाउँदै  कर्मचारीमाथि आक्रमण गर्ने पोखरेलले गल्ती स्वीकार गर्दै माफी मागेपछि कारबाहीको थप प्रक्रिया अघि नबढाइएको खड्काको भनाइ छ । ‘गल्ती गरेको स्वीकार गरेपछि माफी दिएका हौँ,’ उनले भने, ‘नत्र कारबाही प्रक्रिया अघि बढाउन प्रहरी र प्रशासनलाई आग्रह गरिसकेका थियौँ ।’ खड्काका अनुसार दुई महिनाभन्दा बढीको बाँकी बक्यौता रहेका ग्राहाकको लाइन काट्ने अभियान प्राधिकरणले चलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर