Nepali Unicode | Preeti to Unicode

विराटनगर महानगरपालिकाले खरिद गरेको ब्रुमर कहाँ छ ? महानगरवासीलाई थाहा छैन । धेरै जनालाई त महानगरले ब्रुमर खरिद गरेको छ भन्ने कुराको जानकारीसमेत छैन । महानगरले सडकको धुलो सफा गर्न वि.सं २०७५ सालमा ब्रुमर खरिद गरेको थियो ।

महानगरपालिकाले ५५ लाखमा खरिद गरेको ब्रुमर एकपटक प्रयोग भएपछि प्रयोगविहीन अवस्थामा थन्किएको छ । लामो समय महानगरमा नै रहेको ब्रुमर एक वर्षदेखि फोहोर पानी प्रशोधन केन्द्र जतुवामा राखिएको छ ।

मर्मत गर्नका लागि राखिएको ब्रुमरको वरिपरि झारले छोपिसकेको छ । केही व्यक्तिले महानगरले सडकको धुलो सफा गर्न नभएर देखाउनका लागि ब्रुमर ल्याएको र अहिले कहाँ लगेर लुकाएको छ भन्न थालिसकेका छन् ।

यस विषयमा कोसी अनलाइनले बारम्बार समाचार प्रकाशन गरिसकेको छ । बारम्बार यस विषयमा बुझ्दा महानगरले चाँडै सञ्चालनमा आउँछ भनेको पनि डेढ वर्षभन्दा बढी भइसकेको छ ।

कहिले कोरोनाका कारण आवश्यक सामग्री ल्याउन नपाएर मर्मत गर्न नपाएको बताउने महानगरले कहिले सञ्चालनको लागि दक्ष जनशक्ति नभएका कारण समस्या भएको जवाफ दिँदै आएको छ ।

प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा मर्मत भइसकेका सडकमा पनि धुलोका कारण सर्वसाधारण समस्या भोग्न बाध्य छन् । महानगरले भने आधा करोडमा ब्रुमर खरिद गरेर उपयोगमा ल्याउन नसक्नु दुःखद भएको स्थानिय बाबुराम सञ्जेलले बताए ।

उनले भने, ‘लामो समय ब्रुमर प्रयोगविहीन हुनु भनेको महानगरले सञ्चालनमा ल्याउन नचाहेकोभन्दा फरक पर्दैन ।’

यता, ब्रुमर मर्मतको जिम्मेवारी पाएका फोहोर पानी प्रशोधन केन्द्र जतुवाका प्रमुख अनिल सिंहले भने ब्रुमर मर्मतको कार्य लगभग सकिएको बताए । उनले योभन्दा पहिला पनि मर्मत सकिएको भन्दै ब्रुमर सञ्चालन चाँडै हुने बताउँदै आएका थिए ।

उनले  भने, ‘ब्रुमर मर्मतको सम्पूर्ण काम लगभग सकिएको छ, अब ब्रसिङ निर्माण गर्न बाँकी छ, कोरोनाका कारण सामग्री पाउन समस्या भएकाले केही समय लाग्न सक्छ ।’

मर्मत सम्पन्न भएपनि बर्खायाममा सञ्चालन गर्न नसकिने भन्दै उनले भने, ‘कहिले सञ्चालनमा आउँछ भन्ने यकिन भन्न सकिँदैन, तर पनि बर्खाको समयमा सञ्चालन गर्न सकिँदैन । सुख्खा याममा मात्रै सञ्चालन गर्न सकिन्छ, दसैँपछि सञ्चालनमा आउन सक्छ ।’

ब्रुमर सञ्चालनको लागि दक्ष जनशक्तिको अभावका कारण थप समस्या भएको उनले बताए । गत वर्ष ब्रुमर मर्मतको लागि दुई लाख बजेट आएको भएपनि यसपटक कति बजेट छुट्टिएको छ भन्ने थाहा नभएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर