
बीबीसी । वन्यजन्तुको जनसङ्ख्या विगत ५० वर्षमा दुई तिहाइ भन्दा बढीले घटेको संरक्षण समुह ‘डब्लुडब्लुएफ’ को प्रमुख रिपोर्टमा जनाइएको छ । रिपोर्टका अनुसार यस प्रकारको विनाशकारी गिरावट अझै पनि कम हुने कुनै संकेत देखिएको छैन जसलाई वैज्ञानिकहरुले चिन्ताजनक बताइरहेका छन् । यसअघि कहिल्यै नदेखिएको गतिमा मानव समुदायले प्रकृतिको विनाश गरिरहेको सम्बन्धी रिपोर्टले चेतावनी दिएको छ ।
डब्लुडब्लुएफका प्रमुख कार्यकारी तान्य स्टिल भन्छिन्, “हामीले वनजङ्गलमा लगाइरहेको आगो, बढ्दो फडानी, समुद्रमा अत्याधिक माछा मार्ने प्रवृत्ति र जङ्गली क्षेत्रको विनाशका कारण जीवजन्तुहरु यतिबेला ठूलो संकटमा छन् । यसमा हामीले आफ्नै दुनियाँलाई ध्वस्त पारिरहेका छौँ भन्ने पनि बुझ्नुपर्छ जुन हाम्रो एक मात्र घर हो । पृथ्वीको सबै जीवनलाई जोखिममा पारेकै कारण प्रकृतिले अहिले यस्तो संकेत दिइरहेको छ । किनकी हामीसँग अब सुध्रिने समय पनि बित्न लागिसक्यो । ।”
रिपोर्टमा विश्वभरका संरक्षण क्षेत्रमा बसोबास गर्ने हजारौँ जीवजन्तुका प्रजाति र तिनको वासस्थान निरीक्षण गरिरहेका वैज्ञानिकहरुको डाटा अध्ययन गरिएको हो । १९७० पछि २० हजार भन्दा बढी प्रजातिको स्तनधारी, चराचुरुङ्गी, जलथल प्राणी र माछाहरुको जनसङ्ख्यामा औसत ६८ पै्रतिशत गिरावट आएको यसबाट पत्ता लागेको छ । सो गिरावट, मानव क्रियाकलापका कारण वन्यजन्तुको जीवनमा कति ठूलो क्षति पुगिरहेको छ भन्ने स्पष्ट प्रमाण भएको डाक्टर एन्ड्रयु टेरी बताउँछन् जो ‘जुलोजिकल सोसाइटि अफ लन्डन’ को संरक्षण विभागका निर्देशक हुन् । उनले थप भनेका छन्, “यदि हामीमा कुनै परिवर्तन नआउने हो भने अवस्य पनि जीवजन्तुहरुको जनसङ्ख्या यसै दरमा घटिरहनेछ जसले धेरै जनावरहरु लोप गराउनेछ र यसको सिधा असर हाम्रो इकोसिस्टममा पर्नेछ । याद राखौँ मान्छे पनि त्यही इकोसिस्टमयुक्त वातावरणमै निर्भर छ । ”
रिपोर्टमा कोभिड–१९ मार्फत मान्छे र जीवजन्तुबीचको अन्तर सम्बन्धबारे सबैलाई पुनः याद दिलाइएको पनि उल्लेख छ । हालको कोभिड महामारी जङ्गली जीवजन्तुको कारोबार गर्नुको परिणाम स्वरुप फैलिएको विज्ञहरुको मान्यता छ ।
तर पछिल्ला केही नयाँ मोडलहरुबाट प्राप्त प्रमाणले खानपिन लगायत कतिपय व्यवहारमा परिवर्तन ल्याए मान्छेसँग अझैपनि सबै असर रोक्ने समय रहेको देखाएको छ । प्राकृतिक दुनियाँसँग सन्तुलन बनाइ जीवजन्तुहरुको वासस्थान पुनः निर्माण गर्न सक्ने हो भने धेरै कुरा बदल्न सकिने वातावरणविद् सर डेभिड एटनबोरो बताउँछन् । उनले भनेका छन्, “मान्छेले खाद्य उत्पादन, उर्जा सिर्जना, समुद्रको व्यवस्थापन अनि प्राकृतिक श्रोत साधनको उपयोग सम्बन्धी प्रणालीगत् बदलाव ल्याउने हो भने अझै पनि धेरै कुरा सम्भव छ । तर सबैभन्दा पहिले मान्छेले आफ्नो दृष्टिकोण बदल्न जरुरी छ । हामीले प्रकृतिलाई वैकल्पिक नमानेर दुनियाँलाई सन्तुलित राख्ने सिङ्गो सबैभन्दा महत्वपूर्ण सहायक ठान्नुपर्ने हुन्छ । ”
पृथ्वीमा रहेका विभिन्न प्राणीको जीवन सटिक रुपमा सङ्ख्याले मापन गर्ने कुरा अत्यन्तै जटिल छ । तर सबै डाटाहरु एकसाथ राखेर हेर्दा मानव इतिहासकै अप्रत्याशित दरमा जैविक विविधता नाश भइरहेको देखिएको छ । यसअघि २०१९ मा पनि वैज्ञानिकहरुको गैरसरकारी प्यानलले अबको केही दशकमै १० लाख भन्दा बढी वन्यजन्तु (५ लाख जनावर र बोटबिरुवा अनि ५ लाख किराफट्याङ्ग्रा) लोप हुन सक्ने खतरा रहेकाबारे चेतावनी दिएको थियो । संयुक्त राष्ट्र संघले पनि आगामी मंगलबार विश्वव्यापी प्रकृतिको अवस्था सम्बन्धी आफ्नो मूल्यांकन पेश गर्नेछ ।