
३० चैत्र ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको निधन भएको छ। चितवनको रत्ननगरमा ७५ वर्षको उमेरमा उनको निधन भएको हो। उनी दमका रोगी रहेका थिए।
आफ्नो राजनीतिक जीवनमा गोविन्दराजले सधैं सहयोग गरेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले भाइको मृत्युले आफू एक्लो महसुस भएको जनाएका छन्। मेरा प्यारो माईला भाई गोविन्दराज पौडेलको असामहिक निधनको खबरले मर्माहत बनाएको छ। हाम्रो परिवार र गाउँ समाजकै भरोसाका रुपमा हेर्ने भाइ पछिल्लो समय चितवनको रत्ननगरमा बस्दै आएका थिए, भाइको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै वरिष्ठ नेता पौडेलले भनेका छन्, ुप्रिय भाइ नाताले भाइ भए नि मेरो साथी जस्तै गरि सबै कुरामा सहयोगी थिए। मेरो राजनीति जीवनकालमा सधै सहयोगी भुमिका निर्बाह गरेका भाई गोविन्दको निधनले म आफुलाइ एक्लो भएको महसुस गरेको छु। प्रिय भाई गोबिन्द तिम्रो आत्माको चीर शान्तिको कामना गर्दै स्वर्गबासको कामना गर्दछु।
कार्यक्रमको सिलसिलामा तनहुँको दमौलीमा रहेका पौडेल भाइको दाहसंस्कारमा सहभागी हुन रत्ननगरतर्फ लागेको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए। गोविन्दराजको आजै अन्तिम संस्कार गरिनेछ।