
चैत ३० । बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका वनभित्र डढेलो लागेको छ ।
निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने चुरे पहाडबाट सल्किएको डढेलो निकुञ्जको पश्चिम दक्षिण क्षेत्रमा फैलिँदै आएको हो । निकुञ्ज क्षेत्रमा लागेको डढेलोको धुवाँले निकुञ्ज मध्यवर्ती क्षेत्रका बस्ती ढाकेको छ ।
निकुञ्जमा लागेको डढेलोका कारण पशुपक्षी, जनावर, बोटबिरुवा तथा जडिबुटीहरु जलेर नष्ट हुने डर बढेको स्थानीयले बताएका छन्।
साथै, डढेलोको धुवाँले निकुञ्जको सुरक्षार्थ खटिएका सेना र निकुञ्जका कर्मचारी पनि प्रभावित भएका छन् । विशेषत बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने भुरिगाउँ, रानीपुर, कर्मला, प्रतापुर, डुम्रेनी, सैनवार, मैनवार, बर्गदा, रम्मापुर, औँरी, ठाकुरद्धारा लगायतका दुई दर्जनभन्दा बढी गाउँलाई केही दिनयतादेखि डढेको धुवाँले ढाकेको छ ।
डढेलोको धुवाँले निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दामा आँखा पोल्ने, सास फेर्न गाह्रो हुने, गाडि चलाउन गाह्रो हुनेलगायतका समस्या देखा परेको छ ।
धुवाँका कारण हिँडडुल गर्न र बाहिर निस्कन निकै समस्या परेको निकुञ्ज मध्यवर्ती क्षेत्रका स्थानीय केशव खनालले बताउनुभयो । बस्तीमा दिउँसोको तुलनामा राति र बिहानपख बढी धुवाँको प्रभाव पर्ने गरेको उहाँले बताउनु भयो ।
दिउँसो हावा चल्ने हुनाले धुवाँको प्रभाव केही कम हुने भए पनि साँझ पर्नासाथ धुवाँले गाउँ ढाक्ने गरेको ठाकुरबाबा नगरपालिका४ का वडाध्यक्ष शेरबहादुर थारुले बताउनुभयो ।
निकुञ्जले भने एकैपटक धेरै ठाउँमा डढेलो लागे निभाउन सम्भव नहुने बताएको छ।