
२७ चैत । नेपाली कांग्रेसले आयोजना गरेको तीन दलको बैठक शुरु भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार अपरान्ह नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपा सहितको बैठक शुरु भएको हो ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु रहेका छन् ।
नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ सहभागी भएका छन् ।
जनता समाजवादी पार्टीबाट संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो र अशोक राई सहभागी छन् ।
नेपाली कांग्रेसले अघिल्लो हप्ता केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । सोही अनुसार देउवाले नयाँ सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न तीन दलको बैठक बोलाएका हुन् ।