
‘२४, फागुन। चितवनको भरतपुर महानगरपालिकाको एक सरकारी विद्यालयका बालबालिका अझैं पनि भुइँमा बसेर पढ्न बाध्य छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । भरतपुर महानगरपालिका–४ मा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालय यज्ञपुरीका साना–साना बालबालिका कक्षा कोठाको अभावमा भुइँमा नै बसेर पढ्न बाध्य भएका हुन् ।
विद्यालयमा अहिले दुईसयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ७ वटा कक्षा चलेको विद्यालयमा एउटा कक्षाका लागि कोठाको अभाव छ । कुनै कोठालाई ‘पार्टिसन’ गरिएको छ । तर पनि कोठा अभाव छ । नर्सरीमा पढ्ने साना बालबालिकाहरूलाई भुइँमा राखेर पढाउन बाध्य भएको विद्यालयका प्रधानाध्यापक धीरबहादुर थापाले बताए ।
‘नर्सरीका विद्यार्थीहरुलाई चौरमा नै राखेर पढाएका छौं, कोठा नै पुग्दैन, अभिभावकहरूले सोध्नुभयो भने बाहिर घाममा राखेर पढाएको, खेल्न पनि पाउँछन् भनेर ढाटछौं,’ उनले भने, ‘बिहान सफा लुगा लगाएर आएका विद्यार्थी घर पुग्दा धूलोमैलो भएर जान्छन् बाध्यता छ ।’
२०१९ सालमा स्थापना भएको उक्त विद्यालयको भवन २०२४ सालमा बनेको हो, जुन अहिले जीर्ण अवस्थामा छ । भवनका छतबाट प्लाष्टर उप्किएको छ भने कक्षा कोठाका भित्ता चिरिएका छन् ।
‘कतिबेला विद्यार्थीलाई छतबाट झरेको प्लाष्टरले टाउकोमा लाग्ला भन्ने चिन्ता छ । शिक्षक, विद्यार्थी जो कोहीलाई पनि कतिबेला घाइते भइने हो भन्ने त्रासमा बस्नुपर्छ,’ प्रधानाध्यापक थापाले भने, ‘सानोतिनो भुइँचालो विद्यालय चलेको बेलामा आए ज्यानकै खतरा छ ।’ विद्यालयमा जम्मा ३ जना शिक्षकको मात्रै सरकारी दरबन्दी छ । तर कक्षा भने ७ वटा छन् । गत वर्ष भरतपुर महानगरपालिकाले दुईजनाको दरबन्दी विद्यार्थी कम भएको भनेर काटेको थियो । चार जना निजी स्रोतका शिक्षक छन् । उनीहरुलाई तलब दिन नै धौ धौ परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम सापकोटाले बताए ।
‘शिक्षकहरुलाई भनेजति तलब दिने स्रोत नै छैन, सहयोग गर्नुस् भनेर अत्यन्तै कम रकममा काम लगाएका छौं, यसो भन्दा मलाई निकै दुःख लाग्छ,’ सापकोटाले भने, ‘एक तरिकाले भन्दा शिक्षकहरूको श्रमको शोषण हामी स्वंयले गरेका छौं ।’
काटेको दरबन्दी विद्यार्थी संख्याको आधारमा फिर्ता गर्नुभन्दा पनि महानगरको शिक्षा शाखाले नसुनेको विद्यालयको गुनासो छ । ‘कुनै सरकारी विद्यालयलाई भनेजति संरचना बनाउन पैसा, विद्यालय बस दिने काम महानगरबाट भएको छ, तर हामीलाई जीर्ण भवन बनाउने रकम कसैले दिएन,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सापकोटाले भने, ‘शायद हामीसँग राजनीतिक पहुँच भएन, हामीले दुखाउन, बिजाउन, धम्काउन सकिएन होला, महानगरको मुटुको विद्यालयमा बालबालिका बाहिर भुइँमा बसेर पढ्छन् भन्दा उहाँहरुको इज्जत जोगिएला र
महानगर र शिक्षा समन्वय इकाईमा जाँदा–जाँदा आफूहरू हैरान भएको सापकोटाले गुनासो गरे ।
सोही क्षेत्रका प्रदेश सांसद विजय सुवेदीले महानगरभित्रका हरेक सरकारी विद्यालयको न्यूनतम मापदण्ड पूरा गरेर मात्रै अन्यमा थप लगानी गर्नुपर्ने बताए । आवश्यक स्रोतको उचित विन्यास नगरी पहुँच र राजनीतिक आधारमा रकम दिँदा यस्ता बालबालिकाहरु भुइँमा बसेर पढ्न बाध्य भएको सांसद सुवेदीको भनाइ छ ।
सुवेदीले आफ्नो पहलमा राष्ट्रपति शैक्षिक पूर्वाधार कार्यक्रम अन्तर्गत विद्यालयका लागि दुई कोठे अस्थायी भवन बनाउन ६ लाख ५० हजार रुपैयाँ रकम विनियोजन गरेको बताए । ‘यतिको समस्या भएको विद्यालय शायदै अन्त होला, यहाँ त बालबालिकाहरु भुइँमा पढ्नुपर्ने अवस्था रहेछ, भवनभित्रका पढेका विद्यार्थीलाई पनि छतबाट उप्किएको प्लाष्टरले लागेर घाइते बनाउला भन्ने डर रहेछ,’ सांसद सुवेदीले भने, ‘तत्कालका लागि केही गर्न सकियोस् भनेर राष्ट्रपति शैक्षिक पूर्वाधार कार्यक्रममा राखेर भवन बनाउन खोजेका छौं ।’
भरतपुर महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले विद्यालयको समस्याका बारेमा जानकार रहेको र आगामी वर्षको बजेटमा भवन बनाउने रकम राखिने बताए ।