
फागुन २० । नेत्रविक्रम चन्द विप्लव समूहलाई राजनीतिक गतिविधि गर्न प्रतिवन्ध लगाएपछि उनीहरुविरुद्ध प्रहरीले धरपकड बढायो । ०७५ फागुन २८ मा सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो ।
त्यसपछि देशभरबाट २ हजार ९८ जना विप्लवका नेता–कार्याकर्ता पक्राउ परे । सो समूह विरुद्ध २ हजार ७ वटा मुद्दा विभिन्न प्रहरी युनिटमा दर्ता रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले रातोपाटीलाई बताए ।
मुद्दा दर्तापछि थुनछेक बहस हुँदा अदालतको आदेशबाट १८ सय ६४ जना तारेखमा छुटेका छन् । यद्यपि उनीहरु विरुद्धको मुद्दा विचाराधीन छ । सरकार र विप्लव समूहको बीचमा भएको वार्तापछि उनीहरु विरुद्धको मुद्दा खारेज गर्ने सहमति भएको छ ।
प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार विप्लवका १ सय २६ नेता कार्यकर्ता अदालतको आदेशले जेलमा बसेर मुद्दा लडिरहेका छन् । सरकार र सो समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर हुँदा १८ जना प्रहरीको हिरासतमा छन् ।