
फागुन १९ । । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६, हटियामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । रुखमा झुण्डिएको अवस्थामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शव सोही वडाको गुरुद्वारा बस्ने रामकृष्ण बलामीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरले रातोपाटीलाई बताए । आफ्नै घरबाट पूर्वतर्फ ५० मिटर टाढा रहेको बकाइनोको रुखमा झुण्डिएको अवस्थामा बलामीको शव फेला परेको प्रहरी निरीक्षक गजमेरले बताए ।
घटनास्थल र घटनाको प्रकृति हेर्दा बलामीले रुखमा झुन्डिएर आत्महत्या गरेको हुन सक्ने हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोइराला बताउँछन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोलीले घटनास्थलको अनुसन्धान तथा मुचुल्का उठाउने काम गरिरहेको प्रहरी निरीक्षक गजमेरले जानकारी दिए ।
यसअघि मंगलबर हेटौंडा उपमहानगरपालिका वडा नम्वर–८ स्थित कर्रा खोलाको पुल नजिक एक वृद्धको शव फेला परेको थियो ।