
१३ फागुन । भरतपुर महानगरपालिकामा आपतकालीन कार्यसञ्चालन केन्द्र
भरतपुर स् भरतपुर महानगरपालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र सुरुवात भएको छ। युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडीपीले शहरी विपद् पूर्वतयारी परियोजना अन्तर्गत भरतपुर महानगरपालिका परिसरमा आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गरेको हो।
नेपालका लागि युरोपियन युनियनकी महामहिम राजदुत नोना डेप्रेजले केन्द्रको उद्घाटन गरिन्। केन्द्रको उद्घाटन गर्दै नोनाले भरतपुर महानगरमा आपतकालीन कार्यसञ्चालन केन्द्रको स्थापना गरी जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्न पाउँदा खुसी लागेको बताइन्।
विपद् पूर्वतयारी, प्रतिकार्य तथा विपद् पश्चातको पुर्ननिर्माणमा आपत्कालीन कार्यसंचालन केन्द्रले प्रमुख भुमिका खेल्ने उनको भनाई थियो। विपद्को जोखिममा रहेका मानिसहरुको जीवन यापनमा सहजता ल्याई विपद्हरुको अझ राम्रोसँग सामना गर्ने क्षमता वृद्धि गरी नेपाली समुदायको उत्थानशील क्षमतालाई सुदृढ बनाउन युरोपियन युनियन प्रतिवद्ध रहेको उनले बताइन्।
युएनडीपीका सहायक आवासीय प्रतिनिधि बर्नाडो कोकोले भरतपुर क्षेत्रको विपद ब्यवस्थापनबाट हुने क्षति घटाउन यो केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे। यसलाई २४ घण्टा सञ्चालन गरेर धेरैभन्दा धेरै मानिसमा यसको पहुँच पुर्याई विपदबाट हुने धनजनको क्षति घटाउन सकिने बताए।
यस परियोजना अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडीपीले शहरका लक्षित समूहहरुको पहिचान गर्न, विपद प्रतिकार्यका लागि स्वयंमसेवकहरुको गठन गर्न, प्राथमिक उपचार खोज तथा उद्धार गर्न र आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना लगायतका कार्यमा नगरपालिकालाई सहयोग गर्दै आएको छ।
गृह मन्त्रालय, विपद् ब्यवस्थापन प्राधिकरणका उपसचिव नवराज जैसीले देशमा प्राकृतिक र गैरप्राकृतिक विपदबाट हजारौँले ज्यान गुमाउनु परेको बताए।
भरतपुर महानगर प्रमुख रेनु दाहालले यसबाट समग्र चितवनको विपद् ब्यवस्थापनबाट हुने क्षति घटाउन निकै महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले जिल्ला तथा महानगरमा विपदबाट हुने क्षति घटाउन महानगर निरन्तर लागिरहेको र अब झन् आवश्यक पूर्वाधारसहित परिचालन हुँदा यसबाट हुने क्षति धेरै कम गर्न सकिने बताइन्। कार्यक्रममा महानगरलाई विपदबाट हुने क्षति नियन्त्रण गर्ने विभिन्न खोज तथा उद्धारका सामग्री समेत हस्तान्तरण गरिएको थियो।