माघ २९ । नेपाल उद्योग वाणिज्य महासंघले कोरोनाका कारण उद्योगी व्यवसायी पनि मारमा परेको भन्दै तत्काल कोरोनाविरुद्धको खोप अभियानमा सहभागी गराउन सरकारसमक्ष माग गरेको छ । महासंघको स्वास्थ्य तथा सीप विकास समिति सभापति हेमराज ढकालसहित सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलले स्वास्थ्यमन्त्री ह्रदयेश त्रिपाठीसँग यस्तो माग गरेको हो ।
भेटवार्तामा सभापति ढकालले तत्कालका लागि उद्योगी व्यवसायीका लागि पाँच हजार डोज खोप उपलब्ध गराउन अनुरोध गरे । कोरोनाका कारण निजी क्षेत्र पनि आक्रान्त भइरहेकाले महासंघसँग आबद्ध जिल्ला नगर, वस्तुगत तथा एसोसिएट्स सदस्यहरुका लागि सरकारले तत्कालै पाँच हजार डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउनपर्ने उनले बताए । उनले सरकारले ल्याएर उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन नसकेको खण्डमा उक्त खोप निजी क्षेत्रलाई नै ल्याउन दिनसमेत माग गरे ।
साथै पछिल्लो समय सरकारी निकायहरूबीच समन्वय नहुँदा व्यवसायीले दुःख पाएको भन्दै त्यस विषयमा समेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ । विशेषगरी एउटा निकायको सहमतिमा व्यवसायीहरूले आयात गरेको सामान अर्को निकायले रोक लगाएर दुःख दिने गरेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन आग्रह गरेको छ । यसअघि खाद्य विभागले स्वीकृति दिएर आयात गरेको भिटामिन स्वास्थ्य विभागले रोकेको भन्दै सरकारी संयन्त्रबीच एकरुपकता ल्याउन महासंघले आग्रह गरेको छ ।
मन्त्री त्रिपाठीले पहिलो चरणमा ल्याएको प्राथमिकताको क्रममा दिन सुरु गरिएकाले दोस्रो चरणको खोप आयातपछि उद्योगी व्यवसायीहरूलाई प्राथमिकतामा राखिने बताए । उनले निजी क्षेत्रलाई कोरोनाको खोप आयात गर्न दिने विषयमा समेत सकारात्मक आश्वासन दिएको महासंघले जनाएको छ ।