
माघ २६ । ललितपुरको गोदावरी नगरपालिका(३ स्थित फुल्चोकी जंगलमा हराइरहेका २ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका(६ घर भएका २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका(३ घर भएका १९ वर्षीय सुरेश केसी उक्त जंगलमा घुम्न गएकाबेला हराएका थिए ।
सोसम्बन्धी खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका(२ चापाखर्कमा अलपत्र रहेको अवस्थामा उनीहरुलाई उद्दार गरी अभिभावकको जिम्मा लगाएको हो ।
जाडो याममा हिउँ पर्ने कारण आन्तरिक पर्यटकको अत्यधिक घुँइचो हुने र बाटो बिराइ मानिसहरु हराउन गई मृत्यु समेत हुने गरेको बिगतको घटनाहरुलाई मध्यनजर गरी महानगरीय प्रहरी प्रभाग बाँडेगाउँले फुल्चोकी प्रवेशको मुख्य नाका गोदावरी बसपार्क नजिकै जाँच, पर्यटक बिबरण ईन्ट्रीलगायत गर्दै आएको छ ।