माघ १९ । जलेश्वरनाथ विकास समाजले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । आइतबार साँझ ललितपुरको झम्सिखेलमा आयोजना गरिएको कार्यक्रममा समाजले संस्थाको उद्देश्य र यसले जलेश्वरको विकासमा गर्न चाहेको सहयोगी कामका विषयमा चर्चा गरियो ।
जलेश्वर पुरानो र चर्चित सहर भए पनि यसको विकास तथा विस्तारमा देखिएको सुस्ततालाई कसरी हटाउन सकिन्छ र जलेश्वरमा के कस्ता विकासका कामहरू गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रममा विशेष छलफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्वन्यायाधीश बैद्यनाथ उपाध्यायले आफ्नो बाल्यकाल तथा जलेश्वरसँग जोडिएका बालस्मृतिहरूको स्मरण गरे । उनले संस्थाको उद्देश्यको प्रशंसा गर्दै आज जलेश्वर सुनसान हुँदै गएको चर्चा गरे । उनले जलेश्वरलाई जागृत गराउन सबै एकजुट भएर जानुपर्नेमा जोड दिए । उपाध्यायले भने, “काठमाडौंमा बसेर र छलफल गरेर मात्रै जलेश्वरको विकास हुँदैन । जलेश्वर विकासका लागि तपाईं पनि जलेश्वर पुग्नुपर्छ । म पनि जलेश्वर पुग्नुपर्छ ।”
कार्यक्रमका अर्का अतिथि पूर्वराज्यमन्त्री सुशील श्रेष्ठले आज पनि जलेश्वरमा विकास गर्ने ठाउँ प्रशस्त भएको उल्लेख गर्दै जनचेतना अभिवृद्धिमा पनि संस्था लाग्नुपर्नेमा जोड दिए ।
चीनका लागि पूर्वमहावाणिज्यदूत रवि भट्टराईले देशकै नाम उज्यालो बनाउने मानिस जलेश्वरमा कुनै बेला रहेकोमा आज त्यही जलेश्वरको अवस्था दयनीय भएको बताए ।
जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष लवराजा सिंहले जलेश्वरलाई विद्वान् तथा बुद्धिजीवीहरूले बिर्सिँदै गएको बताए । उनले सबैलाई जलेश्वरलाई माया गरिदिन आग्रह गरे । अर्का वक्ता अजयकुमार जालानले जलेश्वरलाई धार्मिक पर्यटनस्थलकारूपमा विकसित गर्नुपर्ने कुरो उठाए ।
जलेश्वरनाथ विकास समाजका अध्यक्ष विजयकुमार जालानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सचीन सिंहलगायतले बोेलेका थिए । कार्यक्रममा जलेश्वर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरू लवराजा सिंह, कृपाशंकर शाह, शिवचन्द्र चौधरी, रञ्जीतकुमार चौधरी, छेदी चौधरी र चन्दन शाह तथा मारवाडी सेवा समितिका नवनिर्वाचित सदस्य अजयकुमार जालानलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा संस्थाका सल्लाहकार नवलकिशोर चौधरीको सहजीकरणमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । जसमा जलेश्वर विकासको विभिन्न पाटोहरूमा चर्चापरिचर्चा भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs