
माघ १८। नेपाली कांग्रेसका १३ वटा भ्रातृसंस्थाले प्रतिनिधिसभा विघटनविरुद्धको प्रदशर्नमा सहभागी हुन संयुक्त अपिल गरेका छन् ।
नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाजले संयुक्त विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध हुने प्रदर्शनमा सहभागिताका लागि अपिल गरेका हुन् ।
‘‘नेपाल कम्युनिस्ट पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्धमा हामी निरन्तर आन्दोलनमा छौँ,’’ संयुक्त अपिलमा भनिएको छ, ‘‘यस क्रममा भोलि माघ १९ गते नेपाली कांग्रेसका १३ वटै भातृसंस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको छ ।’’
अपिलमा सरकारले चरण भ्रष्टाचार गरेको र भ्रष्टाचारलाई बढावा दिएको तथा जनसरोकारका विषयमा समेत उदासीनता देखाएको आरोप लगाइएको छ । ‘‘संसद् विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौँ,’’ अपिलमा भनिएको छ ।