
माघ १८ । नेपालमा कोभिड–१९ विरुद्धको खोप ल्याउने दर्ता अनुमतिका लागि आवेदन दिएका दुई कम्पनीको कागजात नपुगेका कारण दर्ता प्रक्रिया रोकिएको छ ।
भारतको भारत बायेटेक र चीनको सिनोर्फामले औषधि व्यवस्था विभागमा यही जनवरी १७ तारिखमा आवेदन दिएका थिए । उनीहरुको दर्ता अनुमतिका लागि आवश्यक कन्फर्मेसन डकुमेन्ट नपुगेकाले प्रक्रिया अघि बढ्न नसकेको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए ।
विभागले जनवरी १३ मा सूचना जारी गर्दै खोप आयातका लागि इच्छुक तथा योग्य उत्पादन तथा आयातकर्ता कम्पनीलाई खोपको आपत्कालीन दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सूचित गरेको थियो । जनवरी १३ मै भारतको सेरम इन्स्टिच्युटको कोभिसिल्ड खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिइएको थियो ।
सिनोर्फाम कम्पनीले उत्पादन गरेको खोपको गत डिसेम्बर अन्तिममा तेस्रो चरणको परीक्षण गरिएको थियो । जसमा यसको ‘इफिकेसी’ ७० प्रतिशत देखिएको थियो । सिनोफार्मलाई अमेरिकी औषधि प्रशासन एफडीएले हालसम्म प्रयोग अनुमति दिएको छैन । त्यस्तै, भारत बायोटेकले उत्पादन गरेको खोप भने तेस्रो चरणको परीक्षणपछि भारतमा आपत्कालीन प्रयोग भइरहेको छ ।