
माघ १० । लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले हालसम्म ९६ प्रतिशत निर्माण सम्पन्न गरेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको चार प्रतिशत मात्र काम बाँकी रहेको र आगामी चैत महिनामा बिजुली उत्पादन हुने आयोजनाले जनाएको छ ।
आयोजनाका प्रबन्धक मुन्ना शाक्यका अनुसार मेकानिकल, इलेट्रो–मेकानिकल, पाइप बिच्छाउने, सुरुङको केही काम बाँकी छ । यीमध्ये पाइप बिच्छाउने र सुरुङको काम फागुनभित्रै सकिन्छ । तीन हजार २०० मिटर पाइप बिच्छाउनमध्ये तीन हजार १०० मिटर बिच्छाउने काम सम्पन्न भइसकेको र अब १०० मिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।
निर्माण सम्पन्न गर्नुपर्ने निर्धारित समय सकाउँदै समय थप गरी अघि बढ्दै गरेको यस आयोजनाले गत पुसबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो । कोभिडका कारणले निर्माणमा प्रभावित भएकाले केही समय ढिला हुँदा निर्माण अवधिसमेत केही समय लम्बिएको आयोजना कार्यस्थल प्रमुख दिपक ज्ञवालीले बताए ।
बाँध स्थललगायतका अधिकांश काम पूरा गर्दै निर्माण सम्पन्नको चरणमा पुगेकाले अब भने समयमै काम सम्पन्न हुने उनको भनाइ छ । आयोजनाको बाँधस्थल २१२ मिटर ‘ग्रसहेड’ रहेको यस आयोजना बेँशीशहर नगरपालिका–११ रामचोक बेँसीमा विद्युत् गृह रहेको छ । यस आयोजनाले विसं २०७२ फागुनबाट निर्माण सुरु गरेको थियो भने विसं २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । रासस