
९ माघ । तीन महिनायता खाने तेलको मूल्य अस्वाभाविक रुपमा वृद्धि गरिएको छ ।
केही ब्राण्डका खाने तेलको भाउ लिटरमै ४० रुपैयाँसम्म बढेको छ । दैनिक उपभोग्य वस्तुमा भएको अचाक्लि मूल्यवृद्धिबारे चौतर्फी दबाबपछि वाणिज्य विभागले यसैसाता दुईवटा कम्पनीलाई कर्मकाण्डी कारबाही गर्यो ।
उत्पादन लागतको अनुपातमा बढी मूल्य कायम गरेर भटमास, सनफ्लावर र तोरीको तेल बिक्री गरेको पाइएपछि विभागले बाराको अन्नपूर्ण भेजिटेबल प्रालि र महालक्ष्मी सल्भेन्ट एन्ड रिफाइनरीलाई सोमबार ३–३ लाख रुपैयाँ जरिवाना गर्यो । यी कम्पनीले अधिकतम् खुद्रा बिक्री मूल्य ३० रुपैयाँसम्म बढाएर लिटरमै ८ देखि १० रुपैयाँसम्म ठगी गरेको पुष्टि भएको थियो । विभागले दुवैलाई सामान्य जरिवाना गरेर उन्मुक्ति दिएको छ ।
बजारमा उपभोक्ता ठग्नेलाई सरकारी निकायको फितलो कानुन लगाउँदा ठग्ने र उन्मुक्ति पाउने चलन बढ्ने भन्दै उपभोक्ता अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।